
बैंकिङ खबर / सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको लुटपाटबारे प्रहरीले घटनाको विवरण सार्वजनिक गरेको छ । यस लुटपाटको योजना ३ महिना अघि सुरु भएको जनाइएको छ । पक्राउ परेका व्यक्तिहरूको प्रारम्भिक अनुसन्धानबाट यस्तो रहस्य खुलेको हो । समूहले पटक–पटक लुटपाटको असफल प्रयास समेत गरेको प्रहरीको भनाई छ । उक्त समूह बैंक लुट्न पुस २३ गते पनि दुईवटा भाडाका मोटरसाइकल लिएर पुगेका थिए, तर परिस्थिति अनुकूल नभएपछि रित्तै फर्कनुपरेको उल्लेख गरिएको छ ।
प्रहरीले घरधनी स्याङ्तान र चतुरमान बज्युलगायत ७ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकका भगवत सिंह थापा, सिन्धुलीका चतुरमान बज्यु, चितवनका सशांक श्रेष्ठ, नुवाकोटका निरन गिरी र विवेक थापासहितका छन् । प्रहरीले घटनामा प्रयोग भएका २ थान खुकुरी, १ थान प्लास्टिकको नक्कली पेस्तोल, ५ थान मोबाइल, १ थान ठूलो टेप, ३ थान कालो नकाब, १ थान रातो नकाब र एक जोर कालो पञ्जा समेत बरामद गरेको छ । पुस २९ गते साँझ ७ ३० बजे भएको लुटपाट गर्दा बैंकमा सुरक्षा गार्ड रुद्र कार्की र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई नियन्त्रणमा लिएर खुकुरी समेत प्रहार भएको प्रहरीले बताएको छ । लुटेराहरूले गार्ड र कर्मचारीहरूको हात–खुट्टा बाँधेर र मुखमा टेप टाँसेर दुईवटा कोठामा बन्धक बनाएको उल्लेख गररिएको छ । प्रहरीको प्राविधिक अध्धयनले र पक्राउ परेकाहरूको बयानबाट बैंक रहेको घरका घरधनी छविलाल स्याङ्तान नै यो घटनाको मुख्य योजनाकार रहेको देखाएको छ ।