२०८२ पुष ३० गते

बैंकको ब्याजदर झन् घट्यो, माघ महिनामा कुन बैंकको कति ?

बैंकिङ खबर / माघ महिनाका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन्। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गएको भए पनि कर्जाको मागमा अपेक्षित सुधार हुन नसक्दा अधिक तरलताको चाप बढेको छ। सोही कारण बैंकहरूले आफ्नो कोष लागत घटाउन मुद्दती निक्षेपको ब्याजदर क्रमशः घटाउँदै लगेका हुन्।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत ४.६८ प्रतिशतमा झरेको छ। पुस महिनामा यस्तो औसत ४.८५ प्रतिशत रहेकोमा माघमा ०.१६ प्रतिशत बिन्दुले घटेको हो। तीमध्ये १२ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी बैंकहरूले यथावत राखेका छन्।

नेपाल राष्ट्र बैंकले बचत निक्षेपको ब्याजदर न्यूनतम सीमा तोकेका कारण बैंकहरूले बचतको ब्याजदर घटाउन पाएका छैनन्। त्यसैले बैंकहरूले विकल्पका रूपमा मुद्दती निक्षेपको ब्याजदर घटाएर लागत व्यवस्थापन गरिरहेका छन्। साथै, व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपबीच १ प्रतिशत अन्तर कायम गर्नुपर्ने व्यवस्था खारेज भएपछि संस्थागत निक्षेपको ब्याजदरमा क्याप हटेको छ, जसले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउन बैंकहरूलाई सहज बनाएको छ।

भदौमा भएको जेन-जी आन्दोलनपछि निजी क्षेत्रको मनोबल कमजोर बनेको र अर्थतन्त्रमा देखिएको शिथिलता तत्काल सुधार नदेखिएकाले कर्जाको माग थप सुस्त भएको बैंकरहरूको भनाइ छ। बैंकहरूसँग साढे १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य स्रोत रहेको र करिब ९ खर्ब रुपैयाँ अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रशोचन गरेको अवस्था छ।

२० बैंकमध्ये केवल ७ वटा बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत वा सोभन्दा माथिको ब्याजदर प्रस्ताव गरेका छन्। अधिकांश बैंकले लामो अवधिका मुद्दती निक्षेपमा मात्र उच्च ब्याजदर उपलब्ध गराएका छन् भने ६ महिना वा १ वर्षभन्दा कम अवधिका निक्षेपमा ब्याजदर ४ प्रतिशतभन्दा पनि कम छ।

हाल ग्लोबल आईएमई बैंकले सबैभन्दा उच्च ५.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ४.३६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।