२०८२ पुष १४ गते

पर्यटन क्षेत्रमा बैंकिङ लगानी बढ्यो : प्रतिफल बढेन, पाँचतारे होटल थपिँदै !

 बैंकिङ खबर/ पछिल्लो समय बैंकहरूले होटल तथा पर्यटन क्षेत्रमा ऋण लगानी बढाएका थिए । देशभर ठूला होटल खुल्नेक्रम अहिले पनि जारी छ । जसकारण पनि बैंकहरूको लगानी यस क्षेत्रमा बढेको हो । पछिल्लो तथ्यांक अनुसार बैंकहरूले होटल तथा पर्यटन क्षेत्रमा राम्रो लगानी गरेका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, माउन्टेनिङ, ट्रेकिङ, रिसोर्ट र्‍याफ्टिङ र क्याम्पिङ लगायतमा बैंकहरूले कर्जा लगानी गरेका हुन् । अधिकाँस वाणिज्य बैंकहरुले पर्यटन क्षेत्रमा कर्जा बढाएका छन् । जसमध्ये कृषि विकास बैंक, प्रभु बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तुलनात्मक रुपमा पर्यटन क्षेत्रमा लगानी बढेको छ । लगानी बढाए पनि होटललहरु भने कम्जोर हुँदै गएका छन् । गौतमबुद्ध लुम्बिनी अन्तराष्ट्रिय विमानस्थललाई लक्षित गरेर खुलेका होटलहरुको अबस्था चिन्ताजनक छ । भैरहवा, वुटवल र लुम्बिनी आसपासमा धेरै होटलहरु खुलेका छन् । तर उक्त विमानस्थल राम्ररी संचालन हुन नसक्दा होटलहरुमा समस्या बढेको छ । जेन्जी आन्दोलनपछि पोखरा, काठमाडौं, नेपालगंज लगायतमा पनि अबस्था त्यस्तै देखिन्छ । हाल काठमाडौंमा ३ वटा पाँचतारे होटल र २ वटा चारतारे होटल निर्माणाधिन अबस्थामा छन् ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा २ खर्ब ३० अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले करिव २ खर्ब ३० अर्ब पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष पनि पर्यटन क्षेत्रमा उल्लेखनीय कर्जा प्रवाह भएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा गत आबमा यस्तो कर्जा करिव १४ प्रतिशतले बढेको छ। पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ।

गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा बैंकवित्तको धेरै लगानी

गण्डकी प्रदेशमा पर्यटकीय व्यबसायमै बैंकवित्तको कर्जा अत्याधिक प्रवाह भएको देखिएको छ । होटल र पर्यटन व्यबसायमा भएको लगानी खर्ब नाघेको छ । तथापी हरेक बर्ष लगानी भने घट्दोक्रममा छ । बैंक तथा वित्तीय संस्थाहरूबाट यस प्रदेशमा प्रवाहित सेवा क्षेत्र कर्जा समीक्षा वर्षमा ०.०७ प्रतिशतले कमी आई रु. १ खर्ब ११ अर्ब ५५ करोड रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०।२४ प्रतिशतले कमी आएको थियो । समीक्षा वर्षमा गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जा प्रवाह मध्ये सेवा क्षेत्र कर्जा ३१.२६ प्रतिशत रहेको छ । यस आर्थिक वर्ष सेवा क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये थोक तथा खुद्रा बिक्रेतामा रु. ५८ अर्ब ६६ करोड ९५२.५८ प्रतिशत, पर्यटनमा रु.२३ अर्ब ८९ करोड ९२१.४२ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्तिमा रु. २० अर्ब ६३ करोड ९१८.४९ प्रतिशत, यातायात, भण्डारण र संचारमा रु. ४ अर्ब २९ करोड ९३.८५ प्रतिशत, अन्य सेवा उपशीर्षकमा रु ४ अर्ब ७ करोड ९३.६५ प्रतिशत० कर्जा वक्यौता रहेको छ । समीक्षा वर्षमा सेवा क्षेत्र कर्जामध्ये वित्त, बीमा तथा अचल सम्पत्ति उपशीर्षकमा प्रवाहित कर्जामा २३ प्रतिशतले वृद्धि भएको छ भने यातायात, भण्डारण र संचार क्षेत्रमा प्रवाहित कर्जामा ९.६५ प्रतिशतले कमी आएको छ ।

अपेक्षाकृत पर्यटन बढेनन्, जेन्जी आन्दोलनपछि झन कम्जोर

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा पर्यटक आगमनको संख्या लगातार बढ्दै गएपनि अपेक्षाकृत भने देखिँदैन । भदौ २४ मा भएको जेन्जी आन्दोलनपछि पर्यटन आगमन ह््वात्तै घटेको छ । भदौ २४ सम्म पर्यटन क्षेत्रमा देखिएको आशा आन्दोलनपछि कम्जोर भएको हो । अक्टोबरसम्म ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल भित्रिएका थिए । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०।३ प्रतिशतले वृद्धि हो । नोभेम्बरसम्मको तथ्यांक अनुसार, कुल १० लाख ६० हजार २६९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटक आगमनमा भारत, अमेरिका, र चीन शीर्ष तीन देश हुन्। जुन महिनामा सबैभन्दा बढी ७६ हजार ४ सय २४ पर्यटक नेपाल आएका थिए, जुन यस महिनाको अहिलेसम्मकै उच्च आगमन हो । कोभिड पछि २०२५ मा पर्यटक आगमनले नयाँ रेकर्ड तोड्ने संकेत देखिएको थियो । तर जेन्जी आन्दोलनपछि सो गरफ्तार घटेको छ । नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताउँछन् । आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको उनको भनाइ छ । “अहिले पूर्वाधारको अभावमा हामीले लक्ष्यअनुसार पर्यटक ल्याउन सकेका छैनौँ, यद्यपि मुलुकभर सडकलगायतका पूर्वाधार निर्माण तथा विस्तार भइरहेको सन्दर्भमा आगामी दिनमा पर्यटक बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ”, उनले भने, “यसका लागि सम्बन्धित पक्ष जिम्मेवार भएर पूर्वाधार निर्माणमा सक्रिय हुनुपर्छ ।” उनले पर्यटकलाई लक्षित गरेर सेवा दिने गुणस्तरीय हुनुपर्ने बताए ।