
बैंकिङ खबर/ बैंकमा कार्यकाल सकिन १ बर्ष र केही महिना बाँकी हुँदै गर्दा पछि पनि आफैले बैंक चलाउने तर सिइओका रुपमा रश्मी पन्तलाई ल्याउने रणनीतिमा लाग्दै थिए अशोक शेरचन । बैंकमा कार्यरत कर्मचारी रश्मी पन्तलाई सिइओ बनाएर अशोक शेरचनले आफैले बैंक चलाउने भविश्यको कल्पना मात्रै होइन त्यसका लागि कैयौं बाधाहरु फुकाउँदै आएका थिए । त्यसका लागि शेरचनले चालेका कदमहरु कम्ति रोचक छैनन् । तर उनी पक्राउ परेसँगै उनैले हटाउन चाहेका निरज लम्साल कार्यबाहक सिइओ बनेका छन् । यसपछि रश्मी पन्तलाई सिइओ बनाउने योजना तुएको छ ।
प्रभु बैंकले बैंकका कर्मचारी व्यबस्थापन गर्ने समयमा ल्याएको स्वेच्छिक अवकाश योजनामा १ सय ४८ जना कर्मचारीले २०८० सालमा बैंक छाड्नेगरी आवेदन दिएका थिए । बैंकमा केही असन्तुष्ट तर माथिल्लो तहका कर्मचारीलाई हटाउनै पर्ने थियो शेरचनका लागि । उनले मुख्यगरी बैंकबाट निकाल्नु थियो रश्मी पन्त भन्दा माथिका कर्मचारीहरुलाई । एउटा यही तथ्य खोज्दै हामी विगतमै पुग्यौं ।
बैंकवित्त मर्जर भएपछि सबैभन्दा ठुलो समस्या भनेकै माथिल्लो तहमा कर्मचारी कसरी व्यबस्थापन गर्ने भन्ने नै हो । यही अबस्थामा थिए सिइओ शेरचन पनि । तर यसलाई मौकाका रुपमा कुरीरहेका उनीसामु पन्तलाई माथिल्लो पोष्टमा लैजानु थियो । शेरचनले एउटा यस्तो मौका बनाएर योजना अघि सारे । जुन योजना यसरी सफल हुन पुग्यो ।
रश्मी पन्त भन्दा माथिल्लो तहका कर्मचारी पन्छाउन सिइओ शेरचनले रणनीति बनाएरै गृहकार्य सुरु गरिरहेका थिए । यसै रणनीति अनुसार माथिल्लो तहका कर्मचारीलाई अन्तत पाखा लगाउन शेरचन सफल भए । जुन समयमा नायब महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धर, सहायक महाप्रबन्धक भोला प्रसाद पाठक, मुख्य प्रबन्धक सुवास बहादुर श्रेष्ठ, बरिष्ठ प्रबन्धक शेखर वास्ताकोटी र सन्ध्या श्रेष्ठ, प्रबन्धक खोमी शेव ढुंगाना, सत्यम जोशी र मदन डंगोल, सहायक प्रबन्धकहरु चेत नारायण गौतम, बिकाश लाल श्रेष्ठ, प्रकाश गौतम, भेष राज खड्का, तिर्थ मणि काफ्ले, हरि कृष्ण दाहालले प्रभु बैंक छाडेर गए ।
शेरचनको रणनीति माथिल्लो तहलाई हटाउने
बैंकबाट कर्मचारी हटाउन शेरचनले अपनाएको एउटा अर्को गज्जवको रणनीति छ त्यो रणनीति हो ‘माथिल्लो तहमा रहेका कर्मचारीलाई अधिकार कटौती गरेर विना विभागिय बनाइदिने’ उनको यो कार्यशैलीले अहिलेसम्म काम गरिरहेको थियो । कुनै समय त्यसैको सिकार भएका थिए सिनियर डेपुटी सिइओ तारा मानन्धर । अहिले पनि यही कार्यशैलीको शिकार बनिरहेका थिए बैंकका डेपुटी सिइओ मनिराम पोख्रेल र चिफ रिकभरी अफिसर निरज लम्साल । यी दुईजनालाई हटाएर पन्तलाई डेप्ुटी सिइओ बनाउने र त्यसपछि सिइओको जिम्मेवारी दिने तयारीमा थिए अशोक शेरचन ।
बैंकको जुनीयर पोजीशनमा रहेकी रश्मी पन्तलाई पटकैपिच्छे बैंकको माथिल्लो तहमा बढुवा गर्दा गर्दै अहिले तेस्रो बरियता क्रममा राखिएको हो । दुइजना हटेसँगै उनी सिइओको दावेदार पोजीशनमा दावी गर्ने व्यक्ति हुन् । शेरचन बहालवाला दुइजनालाई हटाएर उनै पन्तलाई आफ्नो उत्तराधिकारी बनाउन चाहान्थे । यही गृहकार्यमा लागिपरेका थिए अशोक शेरचन । राजनीतिक शक्ति र पैसाको आडमा केन्द्रीय बैंकका केही कर्मचारीलाई आफ्नो उदेश्य पुरा गर्ने काममा प्रयोग गर्दै आइरहेका उनीलाई एक्कासी सिइआबीले पक्राउ गरेको छ ।
लगानीकर्तामा बढ्दै थियो आक्रोशित
शेरचनले रश्मी पन्तलाई आगामी सिइओ बनाउन विभिन्न शक्तिकेन्द्रका साथै केन्द्रीय बैंक र संचालक समितिमा समेत बाहुल्यता स्थापीत गर्न थालेपछि बैंकका केही लगानीकर्ताहरु आक्रोशित हुँदै थिए । लगानीको रिर्टन दिन नसक्ने र एउटा कर्मचारीका लागि सबैथोक खर्चेर लागिपरेको भन्दै बैंकका केही ठुला शेयर होल्डरहरु रश्मी पन्तलाई सिइओ बन्नबाट रोक्नका लागि जुर्मुराएका छन् । सिइओ शेरचनको कार्यअवधि सकिन एकबर्ष ३ महिना बाँकी छ । शेरचन आफ्नो कार्यकाल सकिएपछि उनै रश्मी पन्तलाई बैंकको सिइओ बनाउने गरी पहिलैबाट गृहकार्यमा लागिरहेका थिए । पन्तलाई सिइओ बनाउने, आफू एमाले पार्टीमा सक्रिय भएर राजनीति गर्ने एवं आफैले छाँया सिइओका रुपमा काम गर्ने शेरचनको गृहकार्य हो । राजनीतिक शक्ति स्थापीत गर्नकै लागि उनले केही समय अघि मात्रै नेकपा एकालेको शक्तिशाली संस्था मदन भण्डारी फाउण्डेशनमा रहेर काम गर्ने निर्णय गरेका थिए ।
यसैका लागि अहिले पनि बैंकमा रिक्त एक डेपुटी सिइओको पद खाली नै राखिएको छ । निरज लम्साल सिनियर भए पनि चिफ रिकभरी अफिसरका रुपमा उनलाई राखिएको थियो । बैंकमा हाल सिनीयर डेपुटी सिइओका रुपमा मनिराम पोख्रेल विना विभागियनै बनेका थिए । तथापी पोख्रेल पनि शेरचनसँगै सीआइबीको छानबीनमा पक्राउ परेका छन् । यसअघि पोख्रेलसँगै रहेका सिनीयर डेपुटी सिइओ तारा मानन्धरलाई ४ बर्ष अघि नै यस्तै अधिकार विहीन बनाएर राख्दा असन्तुष्टी भएर मानन्धरले बैक छाडेर थिए । पछि उनी मुक्तिनाथ विकास बैंकमा डेपुटी सिइओ हुन पुगेका थिए । एउटी जुनीयर कर्मचारी रश्मी पन्तलाई माथिल्लो पोजीशनमा ल्याएपछि बैंकका चारजना सिनियर पदका कर्मचारीहरुले गतबर्ष मात्रै एकैपटक बैंक छाडेर गएका थिए ।
रश्मी पन्तलाई बढुवा गर्दा संचालक विवाददेखि राष्ट्र बैंकमा उजुरीसम्म
खासमा रश्मी पन्त पोजिसनका हिसाबबाट तल्लो तहकी कर्मचारी हुन् । तर उनी प्रभु बैंकमा यसरी उदाइन् कि बैंकका कर्मचारी, संचालक र शेयर होल्डरहरु नै चकित पर्न थाले । अशोक शेरचन पक्राउ पर्नुअघिसम्म पन्त बैंकमा सबैभन्दा पावरफुल कर्मचारी हुन् । ४ बर्ष अघि पन्तको अनधिकृत बढुवाका कारण संचालक समितिमा सिइओ शेरचनका विरुद्ध भनाभन नै भएको थियो । सोही क्रममा संचालक समितिले सिइओ शेरचनलाई हस्तक्षेप गरेर पन्तलाई बैंकको केन्द्रीय कार्यालयबबाट पुतली सडकको शाखामा सरुवा गरेको थियो भने संचालक समितिले बैंकमा शेरचनको हालीमुहाली रोक्नका लागि दिनेश थकालीलाई डिजिएमका रुपमा भित्राएको थियो । त्यसो त सिइओ शेरचनको यो कार्यशैली र रश्मी पन्तको गैरकानुनी पदोन्नतीका विरुद्ध बैंकभित्र धेरै पटक प्रश्न मात्रै उठेनन् उनका विरुद्ध कर्मचारी एक भएर केन्द्रीय बैंकमा उजुरी नै दिन पुगे ।
यस विषयलाई लिएर बैंकका सीइओ शेरचनका विरुद्ध २०७८ असोज १२ गते बैंकका कर्मचारीहरुले नियामक निकाय नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । पन्तको मात्रै एकछत्र बढुवा हुनु गैरकानूनि भएको भन्दै करिव २ दर्जन कर्मचारीले असन्तुष्टि जनाएका थिए । सो विषयमा अबिलम्व छानबिन गरी कारबाही गरिपाउँ भनी केन्द्रीय बैंकमा उजुरी परेको थियो । तर शेरचनको प्रभावमा राष्ट्र बैंकका कर्मचारीले शेरचन र पन्तविरुद्धको उक्त उजुरी लुकाईदिए । अन्तत सिइओको एकछत्र राज भएको प्रभु बैंकमा कसैको केही लागेन । फलस्वरुप विरोध गर्ने कर्मचारीहरु बैंकबाटै निकालीए ।
सिइओ शेरचन र पन्तको अगाडि बैंकको संचालक समितिले डिजिएमका रुपमा भित्राइएका दिनेश थकाली पनि लामो समय टिक्न सकेनन् । अन्तत उनी पनि प्रभु बैंक छाड्न बाध्य भए । हाल उनी कामना सेवा विकास बैंकमा सिइओका रुपमा कार्यरत छन् । यही पेरिफेरिमा शेरचनले पुतली सडकमा सरुवा भएकी पन्तलाई केही समयकै अन्तरालमा फेरि केन्द्रीय कार्यालयमै रिटर्न गर्न मात्रै सफल भएनन् एकाएक बढुवा गर्न पनि सफल भए ।
पछि बैंकभित्र कर्मचारी सरुवा, बढुवा, पदोन्नती, स्तरउन्नती सबै कामको जिम्मेवारी नै शेरचनले पन्तलाई दिए । त्यसपछि भने बैंकमा सिनियर कर्मचारीहरुले धमाधम राजीनामा दिन थाले । सोही समय अशोक शेरचनले माथिल्लो तहमा एकाएक आफ्ना मान्छेहरु भर्ना गर्न थाले । सिनीयर कर्मचारीले बैक छाडेर जाने र अरु कर्मचारीहरु पन्तकै अण्डरमा रहनेगरी भर्ति गर्दै जाने यही क्रमले नै पन्त प्रभु बैंकमा हाल शक्तिशाली तेस्रो बरियतामा रहन सफल भएको देखिन्छ । अहिले प्रशाशनिक प्रमुखका रुपमा उनै पन्तलाई जिम्मेवारी तोकिएको छ । छपाई, मसलन्द, स्टेशनरी, विज्ञापन, मिडिया संचालन, एजेन्सी संचालन गर्ने लगायतका व्यबसायिक एवं आर्थिक विभाग प्रमुखका रुपमा पन्त शक्तिशाली पदमा छिन् । पन्तको निर्देशन नमान्दा यसअघि कैयौ कर्मचारी हटाइएका छन् भने केही कर्मचारी अहिले पनि बैंक छाड्ने तर्खरमा छन् ।
पुराना हटाउँदै आफ्ना भित्राउँदै गर्दा यसरी जिम्मेवारी तहमा पुगिन रश्मी पन्त

पुराना सिनियर तहका कर्मचारीले बैंक छाड्दै गएपछि उनै पन्तलाई सिनियर बनाउन शेरचनलाई सहज हुँदै गयो । बर्षौदेखि बैंकमा काम गर्दै आएका, पन्तभन्दा कैयौं गुणा बढि सिनियहरुलाई पाखा लगाएर सन २०२० मा मानव संशाधन विभाग तथा कर्पोरेट अफिसर सिओओ (चिफ अपरेटिङ अफिसर) का रुपमा पन्तलाई अघि सारीयो । त्यसपछि शेरचन र पन्त मिलेरै बैंक चलाउन थाले । यसैक्रममा अब भने आफू निकटलाई बैंकमा भर्ना गर्न दुवै जनालाई सहज हुन थाल्यो । असन्तुष्ट भएर बैंक छाडेका कर्मचारीको ठाउँमा शेरचनले अबका दिनमा पन्तलाई रेशपेक्ट गर्ने कर्मचारीको खोजि गर्न थाले । त्यससँगै नेकपा एमालेलाई मन पराउने र रश्मी पन्तलाई रेस्पेक्ट गर्ने सर्त नै उनले मुल मन्त्र बनाउन थाले । अशोक शेरचनले पछिल्लो समय विना प्रतिश्प्रर्धा बैंकमा भर्ना गरेका अधिकाँस व्यक्ति एमाले पृष्ठभूमिका छन् ।
शेरचनले बैंकमा आशिष गौचन, नन्दा प्रधान, सुजेन शाक्य, राजेन्द्र प्रसाद भट्ट, टंकनाथ निरौला, क्षितिज शाक्य, शविन जंग बहादुर रााणा, रिवश श्रेष्ठ, क्षितिज बहादुर शेरचन, मन्जय राज पाण्डे, चिरंजीवि क्षेत्री, रमेश कुमार श्रेष्ठ, अनुपमा शेरचनलाई व्यबवस्थापनमा माथिल्लो तहमा अघि सारेको तत्कालीन लैनचौर शाखामा कार्यरत एक कर्मचारीले बैंकिङ खबरलाई बताएका हुन् । उनका अनुसार हाल यी कर्मचारीहरु विभागिय प्रमुखका रुपमा रश्मी पन्तको अण्डरमा कार्यरत छन् । बैंकका पुराना कर्मचारीका रुपमा रहेका लैनचौर शाखाका ती कर्मचारीले आफू पनि बैंक छाड्ने तर्खरमा रहेको बताएका थिए ।
पन्तलाई भावि सिइओ भन्दा भन्दै सिइआबीले समात्यो शेरचनलाई
प्रभु बैंक लिमिटेडकी सिनियर पदमा पुगेकी रश्मी पन्त सन् २०१५ मा विजेनश प्लानिङ अफिसरका रुपमा प्रभु बैंक प्रवेश गरेकी थिइन् । पन्त छोटो अवधिमै पटकपटक पदोन्नती भएर माथिल्लो तहमा पुग्नुु आश्चर्य र संयोग दुवै मान्न सकिन्छ । उनको पदोन्नती देखेर बैंकका कर्मचारी तथा शेयर होल्डरहरु आश्चर्य मान्दै जिब्रो टोक्ने अबस्थासम्म आएका छन् । उनलाई भावी सिइओ भनेर जुनीयर कर्मचारीलाई सिइओ शेरचनले व्रिफिङ गरिरहन्थे । यस्तै कुरा चल्दै थियो आइतबार पनि । जुन समयमा शेरचनलाई पक्राउ गर्न एकाएक सिआइबीको टोली आयो । घेरामा परे उनी । केन्द्रीय कार्यालयमा सिइओ शेरचन सहित ३ जनालाई सीआइबीले पक्राउ गर्यो ।
शेरचनले हटाउन चाहेका लम्साले पाए कार्यबाहक

शेरचन पक्राउ परेसँगै बैंक संचालक समितिले निरज लम्साललाई कार्यबाहक सिइओको जिम्मेवारी दिएको छ । बैंकमा शेरचनले जगेडाका रुपमा राखेका थिए लम्साललाई । लम्साल र पोख्रेललाई हटाएर रश्मी पन्तलाई बरिष्ठ डेपुटी सिइओ बनाउने र त्यसपछि पन्तलाई नै बैंकको सिइओ बनाउने रणनीतिमा थिए शेरचन । तर उनी पक्राउ परेपछि संचालक समितिको बैठकले बरिष्ठताको आधारबाट जगेडामै राखिएका लम्साललाई कार्यबाहक सिइओ बनाएको छ । यो घटनाक्रमसँगै सम्भवत भावि सिइओ बन्ने पर्खाइमा रहेकी रश्मी पन्तको सपना ढल्न पुगेको छ । उनलाई भावि सिइओ भन्दै चिनाउँदै गर्दा अशोक शेरचन सिइआबीद्धारा पक्राउ परेका छन् ।