२०८२ मंसिर २ गते

सुदुरपश्चिमका आर्थिक सम्भाव्यताहरु : यसरी औल्यायो केन्द्रीय बैंकले

बैंकिङ खबर/ देशमा सम्भावनाहरुका कुरा गर्दा अरु देशको तुलनामा अत्याधिक सम्भावना देख्न सकिन्छ । जसलाई हामीले वेवास्ता गरीरहेका छौं । लगानीका अबसर, लगानीको वातावरण नहुनु, सुरक्षा अनि दिर्घकालीन आर्थिक रणनीतिको अभाबका कारण यस्तो भएको हो ।

सुन्दर सुदुर पश्चिमका आर्थिक सम्भावनाहरु

राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सके यस क्षेत्रमा बसोबास गर्ने जनताहरुलाई पूर्वाधार र यातायातको सुविधामा सहज पहुँच हुनुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्न समेत सहज भई आर्थिक क्षेत्र थप चलायमान बनाउन सकिने ।

निर्माण क्षेत्रमा दक्ष जनशक्तिको रूपमा काम गर्ने ईलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, कार्पेन्टर आदि लगायत अन्य श्रमिक मजदुरहरू अधिकांश भारतीय छन्। यी क्षेत्रमा नेपाली श्रमिक मजदुरहरू अदक्ष कामदारको रूपमा काम गर्ने गर्दछन् । यस क्षेत्रमा रोजगारीका सम्भावनाहरू प्रशस्त रहेकोले बजारको मागको आधारमा थप दक्ष, सीपयुक्त जनशक्ति तयार गर्न आवश्यक सिप विकास तथा तालिम कार्यक्रम सञ्चालन गर्न सकेमा बजारमा स्वदेशी दक्ष जनशक्तिको आपूर्ति गर्न सक्ने सम्भावना रहेको ।

वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुले सिकेको सिप तथा प्राप्त पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गराउन आवश्यक सहुलियत तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न सकेमा प्रदेश भित्रै पर्याप्त रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने तथा युवाहरुको विदेशिनेप्रवृत्ति कम गर्न सकिने ।

कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यवसायिकरण गर्दै कृषि पेशालाई सम्मानित, मर्यादित र प्रतिष्ठित बनाई कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न आवश्यक स्रोत साधनको सहज व्यवस्थापन, तालिम तथा सिप विकास गरी थप रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै, कृषि उत्पादन बढाई आत्मनिर्भर बनाउन सकिने ।

यस प्रदेशभित्र रहेका धार्मिक स्थलहरुको पहिचान, विकास तथा प्रर्वद्धन गरी धार्मिक पर्यटनको विकास गर्न सकेमा पर्यटक गाईड, होटल रेस्टुँरा सञ्चालन तथा अन्य व्यापार व्यवसायको रुपमा रोजगारी सिर्जना गर्न सकिने ।

प्रदेश सरकार वा नेपाल सरकारबाट नविन सोच भएका नयाँ उद्यमी र लघु उद्यमीहरुलाई सीप विकास तालिम प्रदान गर्ने तथा लगानी प्रवद्र्धन गर्ने एकाईको स्थापना गर्न सके उद्यमशीलताको विकास भई युवा स्वरोजगार हुने सम्भावना रहेको ।

सुदूरपश्चिम प्रदेशमा विद्युत उत्पादनका आयोजनाहरुमा लगानी आकर्षित गर्न प्रदेश तथा नेपाल सरकारबाट लगानीको वातावरण सिर्जना गर्न वैदेशिक तथा निजी क्षेत्रका लगानीकर्तालाई सहुलियत, अनुदान तथा प्रक्रियागत सहजीकरण गर्देै नीतिगत स्थायित्व कायम गर्न सकेमा विद्युत उत्पादन बढ्ने तथा स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने ।

चुनौतीहरु :

पूर्वाधार निर्माण सम्बन्धमा भएका कार्यहरुको अभिलेख व्यवस्थापनलाई आधुनिकीकरण गर्दै समानुपातिक तथा समावेशी रुपमा विकास निर्माणका कार्य अगाडी बढाउनु ।

प्रदेश गौरवका आयोजनाहरु, रणनीतिक महत्वका पूर्वाधार आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरु गुणस्तरीय रुपमा समयमा नै सम्पन्न गर्न आवश्यक स्रोत साधनको व्यवस्थापन गर्नु ।

विद्युत उत्पादन क्षमतामा देशकै बढी क्षमता रहेको सुदूरपश्चिम प्रदेशमा विद्युत उत्पादनका आयोजनाहरुमा लगानी आकर्षित गर्न आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने तथा निर्माणका क्रममा रहेका आयोजनाहरुलाई तिव्रताका साथ सम्पन्न गर्नु ।

भौगोलिक विकटता तथा जलवायु परिवर्तनका कारणले हुने भू–क्षय, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्नु ।

प्राकृतिक प्रकोप (बाढी, पहिरो) को कारण पूर्वाधार निर्माण कार्य ढिलाई हुनुका साथै अनुमानित लागतको तुलनामा यथार्थ खर्चमा उल्लेख्य वृद्धि हुनु । सडक, सिँचाई, खानेपानी र सञ्चार लगायतका पूर्वाधार निर्माण सम्बन्धी कार्यहरुमा तीनै तह तथा विभिन्न सरोकारवाला निकायहरुबीच आपसी समन्वयको विकास गरी निर्माण कार्य व्यवस्थित गर्नु ।

यस प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको संख्या प्रत्येक वर्ष उच्च दरमा वृद्धि हुँदै गईरहेको परिप्रेक्ष्यमा प्रदेश भित्रै दक्ष जनशक्ति तथा कामदारहरुको विकास गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्नु । यस प्रदेशका अधिकांश उद्योगहरु भारतीय दक्ष कामदार तथा आयातीत कच्चा पदार्थमा निर्भर रहेकोले स्वदेशी कामदारको दक्षता अभिवृद्धि गरी रोजगारी वृद्वि गर्नु ।