बैंकिङ खबर/ अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राष्ट्रिय कर दिवस २०८२ मा बोल्दै निजी क्षेत्रको सुरक्षामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले जेनजी आन्दोलनले अर्थतन्त्र, उद्योगधन्दा र रोजगारीमा गम्भीर असर पार्दै करिब ७८ अर्ब बराबरको संरचनागत क्षति र ५५ जिल्लामा २,९०० भवन प्रभावित भएको जानकारी दिए।
उनका अनुसार बेरोजगारी र विकासमा समावेशिता नहुँदा युवामा बढेको असन्तुष्टि आन्दोलनमार्फत प्रकट भएको हो। सरकारले पुनर्निर्माणका लागि चालु वर्षमै एक खर्ब २० अर्ब विनियोजन गरेको छ।
खनालले कर प्रणाली सुधार, सुशासन मजबुत बनाउने, इमानदार व्यवसायीलाई सहज वातावरण दिने र पुँजी बजार सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। संसद् अवरुद्ध हुँदा कानुन निर्माणमा चुनौती भएको पनि उनले उल्लेख गरे।