२०८२ कार्तिक १३ गते

अमेरिकी फेडरल रिजर्भले घटायो ब्याजदर : सुनको मूल्यमा थप उछाल आउने

बैंकिङ खबर/ अमेरिकी फेडरल रिजर्भ (फेड) ले बुधबार संघीय कोष ब्याजदरको लक्ष्य दायरा २५ आधार बिन्दुले घटाएर ३.७५ देखि ४ प्रतिशतमा पुर्‍याउने निर्णय गरेको छ । यो निर्णय यस वर्षको दोस्रो दर कटौती हो।

फेडको अनुसार, हालका उपलब्ध आर्थिक सूचकहरूले अमेरिकाको आर्थिक गतिविधि मध्यम गतिमा विस्तार भइरहेको संकेत गर्छन् । तर रोजगारी वृद्धि सुस्त बन्दै गएको र बेरोजगारी दर केही बढेको देखिएको फेडले जनाएको छ ।

फेडको नीति निर्माण निकाय, संघीय खुला बजार समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी दीर्घकालीन रूपमा अधिकतम रोजगारी र स्थिर मुद्रास्फीति लक्ष्य हासिल गर्न प्रतिबद्ध छौं ।’

अर्थतन्त्रमा देखिएको सुस्ती र रोजगारका तथ्यांकमा आएको कमजोर संकेतका कारण फेडले ब्याजदर घटाउने निर्णय गरेको विश्लेषकहरूले बताएका छन्। फेडले लामो समयदेखि २ प्रतिशत मुद्रास्फीति दरलाई आफ्नो नीति लक्ष्यको रूपमा लिँदै आएको छ ।

यद्यपि, अक्टोबर १ मा सुरु भएको संघीय सरकारको आंशिक बन्दका कारण आर्थिक तथ्यांक संकलनमा समस्या देखिएको छ । यसले फेडलाई भरपर्दो डाटा अभावबीच निर्णय गर्न कठिन परिस्थिति सिर्जना गरेको बताइन्छ ।
फेडका अध्यक्षले विज्ञप्तिमा भनेका छन्,‘अमेरिकी जनताको हितका लागि अधिकतम रोजगारी र स्थिर मूल्य प्राप्त गर्नमा फेड पूर्ण रूपमा केन्द्रित रहनेछ ।’

ब्याजदर घटाएसँगै लगानी र उपभोग बढ्ने अपेक्षा गरिएको छ, जसले अमेरिकी अर्थतन्त्रलाई आगामी महिनामा केही राहत दिने अनुमान गरिएको छ ।

ब्याजदर घट्दा सुनलाई प्रत्यक्ष लाभ हुनेछ । किनकी सुनलाई सुरक्षित लगानीको रुपमा चिनिन्छ । यस्तो अवस्थामा मानिसहरूले राम्रो प्रतिफलको लागि सुनमा आफ्नो लगानी बढाउन सक्छन्। त्यसो भए सुनको भाउ बढ्न सक्ने देखिन्छ ।

फेडरल रिजर्भको बुधबारको बैठकअघि सुनको भाउ बढेको छ । यसअघि केही दिनदेखि सुनको मूल्यमा गिरावट आएको थियो ।