सेबोनका कर्मचारी आन्दोलित, अध्यक्षको राजीनामा माग्दै गाडीको चाबी खोसे

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डमा रहेका दुवै कर्मचारी युनियनले खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको भन्दै कामकारबाही ठप्प पारेका छन् । बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ तथा कार्यकारी निर्देशकको सवारीसाधन नियन्त्रणमा लिइ उनीहरुले सबै काम ठप्प पारेका हुन् ।

मंगलबार दिउँसो केही बेर बोर्ड परिसरमा उनीहरूले सरकार र अध्यक्ष श्रेष्ठविरुद्ध नाराबाजी समेत गरे । हाल कार्यरत र पेन्सन पाकेका कर्मचारीले बोर्डको कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषबाट छुट्टाछुट्टै सेवासुविधा पाउँदै आएका छन् ।

तर हालै मन्त्रीस्तरीय निर्णयबाट सेवा सुविधा पाउने सम्बन्धी सबै नीतिगत व्यवस्था खारेज गर्न निर्देशन दिइएको छ । त्यति मात्रै नभइ यसअघि लिइसकेको सुविधा समेत फिर्ता गर्नुपर्नेगरी निर्णय भएको छ ।

लिँदै आएको सुविधा कटौती हुने र थप भुक्तानी समेत गर्नुपर्ने भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बोर्ड अध्यक्ष श्रेष्ठलाई यो निर्णय तत्काल फिर्ता गर्न÷गराउन वा राजीनामा दिन भन्दै उनीहरुले दबाब दिएका छन् ।