२०८२ आश्विन ५ गते

टर्की संसारको सबैभन्दा महँगो ब्याजदर हुने दोस्रो मुलुक : ४३ प्रतिशत ब्याजदर

बैंकिङ खबर/ टर्की अहिले संसारकै सबैभन्दा महँगो ब्याजदर हुने दोस्रो मुलुक बनेको छ । देशको मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास स्वरूप टर्कीको केन्द्रीय बैंकले लगातार ब्याजदर बढाउँदै लगेको छ । अहिले टर्कीको ब्याजदर ४३ प्रतिशत छ । यसै वर्षको जुलाईमा केन्द्रीय बैंकले ब्याजदर ३०० आधार अंकले घटाएर ४३ प्रतिशत बनाएको हो । त्यसपछि यो स्थिर रहेको छ ।

दक्षिण–पूर्वी युरोप र पश्चिमी एसिया अवस्थित देश टर्कीमा २०२५ सम्म ६३ वटा बैंकवित्तीय संस्थाहरू सञ्चालनमा छन् । टर्कीको केन्द्रीय बैंक‘टर्की गणराज्यको केन्द्रीय बैंक’ हो । हाल गभर्नर फातिह कराहान छन् । फिच रेटिंग्सका अनुसार बाह्य वित्तीय दबाब कम भएर आर्थिक नीतिहरूमा परिवर्तन आएपछि यहाँको बैंकिङ क्षेत्र सुधार हुँदैछ । टर्कीको बैंकिङ क्षेत्र हाल विश्वव्यापी आर्थिक चुनौती र आन्तरिक वित्तीय दबाबको बीचमा द्रुत रूपमा परिवर्तन हुँदैछ ।

जुलाई २०२५ सम्मको तथ्यांक अनुसार टर्कीको बैंकिङ क्षेत्रका कुल सम्पत्ति टर्की लिरा ४०.७ ट्रिलियन पुगेको छ । जुन २०२४ को अन्त्यसँग तुलना गर्दा २४.६ प्रतिशतले वृद्धि हो । टर्कीका बैंकहरूले टर्की लिरा २०.०६ ट्रिलियन कर्जा प्रवाह गरेका छन् ।

त्यसैगरी, सुरक्षा–सेक्युरिटीज पोर्टफोलियो टर्की लिरा ६.४९ ट्रिलियन पुगेर २४.२ प्रतिशतले वृद्धि भएको छ । टर्कीको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको हिस्सा २.१८ प्रतिशत रहेको छ, जुन तुलनात्मक रूपमा नियन्त्रणमा रहेको संकेत हो ।
टर्कीको बैंकिङ क्षेत्रले विगत केही वर्षमा विभिन्न चुनौतीहरू सामना गरिरहेको छ । उच्च मुद्रास्फीति, विदेशी मुद्रा दरमा उतार–चढाव, र राजनीतिक अस्थिरताका कारण बैंकहरूको ब्याज मार्जिनमा दबाब परेको थियो ।