२०८२ आश्विन ५ गते

नयाँ आर्थिक वर्षको पहिलो महिनामा बैंक वित्तले कमाए ९ अर्ब नाफा


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष पहिलो महिना ९ अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमान विभागले बैंकहरूले उक्त नाफा आर्जन गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्ष २०८१/८२ मा ७८ अर्ब ८० करोड नाफा कमाएका थिए । २०८१ साउनमा भने १० अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको थियो ।

बैंकहरुको ब्याज आम्दानीसँगै ब्याज खर्च पनि घटेको छ । अधिक तरलताले गर्दा बैंकहरूमा बढेको प्रतिस्पर्धाले निक्षेप र कर्जाको भारित औसत ब्याजदरबीचको अन्तर (स्प्रेड दर) घट्दै गएको छ । त्यस्तै अधिक तरलता हुँदा त्यसको लागत भार बैंकहरूमा परेको छ ।

राष्ट्र बैंकले तरलता प्रशेचन गरिरहेको भए पनि निक्षेपको लागतभन्दा कम दरमा तरलता प्रशोचन भएकोले ब्याज खर्चको तुलनामा ब्याज आम्दानी बढीले घटेको अवस्था छ ।

खुद ब्याज आम्दानीमा नै कमी र सञ्चालन खर्च पनि बढेका कारण गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा बैंकहरूको नाफा घटेको हो ।

साउनमा गत असार मसान्तमा तुलनामा बैंकहरूको निक्षेप ६३ अर्ब रुपैयाँ र कर्जा १८ अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षको साउनमा निक्षेप ५७ अर्ब रुपैयाँले घट्दा कर्जा भने ३ अर्बले बढेको थियो । ४ खर्ब ४४ अर्ब ५८ लाख रुपैयाँ चुक्ता पुँजीसहित कुल ८ खर्ब ४० अर्बको पुँजी कोष रहेको बैंकहरुले उक्त मुनाफा आर्जन गरेका हुन् ।

साउनमा वाणिज्य बैंकहरूले ८ अर्ब ३८ करोड, विकास बैंकहरूले करिब ८२ करोड र फाइनान्स कम्पनीहरूले करिब १८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांक छ ।

बैंकहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेर ५० अर्ब माथि पुगेको छ । साउन मसान्तमा गैरबैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुन बैंकको नाफा कति ?

१.ग्लोबल आईएमई : ७८ करोड ४५ लाख

२.नबिल : ७१ करोड ६४ लाख

३.नेपाल इन्भेष्टमेन्ट मेगा : ६३ करोड ४२ लाख

४.राष्ट्रिय वाणिज्य बैंक : ५५ करोड ८३ लाख

५.नेपाल बैंक : ५५ करोड २७ लाख

६.प्राइम : ५० करोड ५० लाख

७.कृषि विकास : ३८ लाख

८.कुमारी : ४९ करोड २४ लाख

९.एभरेष्ट : ४८ करोड ३९ लाख

१०.एनएमबि : ४६ करोड ६८ लाख

११.हिमालयन : ४० करोड ८९ लाख

१२.सिद्धार्थ : ४० करोड १४ लाख

१३. लक्ष्मी स्‌नराईज : ३९ करोड ४५ लाख

१४. सानिमा : ३९ करोड ३ लाख

१५.एनआईसी एशिया : ३१ करोड ९४ लाख

१६. प्रभु : ३० करोड २३ लाख

१७. सिटिजन्स : २७ करोड २५ लाख

१८. स्ट्यान्डर्ड चार्टर्ड : २७ करोड १६ लाख

१९. माछापुच्छ्रे : २६ करोड ५२ लाख

२०.नेपाल एसविआई : १५ करोड ८९ लाख