
बैंकिङ खबर/ सेयर बजारमा तेस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ। तेस्रो सर्किट ब्रेक लागेसँगै आजको दिनभरको कारोबार बन्द भएको छ। खुलेको २ मिनेटमै ४ प्रतिशतले घटेपछि सेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो।
त्यसपछि खुलेको नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो। तेस्रो पटक खुलेको बजारमा (१२ बजेर ६ मिनेट) जाँदा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आजको कारोबार बन्द भएको हो।
आज प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको थियो। कारोबार सुरू भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सर्किट ब्रेक लागेमा २० मिनेटका कारोबार बन्द हुन्छ।
कारोबार सुरू भएको पहिलो घण्टामा ४ प्रतिशत,दोस्रो घण्टामा ५ प्रतिशत र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ। तेस्रो सर्किट ब्रेक पछि सो दिनको कारोबार नै बन्द हुने व्यवस्था छ।
पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०७.०४ अंकले घटेर २५६५.२१ विन्दुमा पुगेको थियो। दोस्रो सर्किट लाग्दा नेप्से परिसूचक १३३.६१ अंकले घटेर २५३८.६३ विन्दुमा र तेस्रो सर्किट लाग्दा १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा झरेको छ।
भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनको असर सेयर बजारमा देखिएको छ। आन्दोलनपछि बन्द भएको सेयर बजार आज सुचारु भएको थियो।
