२०८२ आश्विन १ गते

जेनजी आन्दोलन : राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड बढी नगद लुटपाट

 
बैंकिङ खबर/ यहि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ठूलो मात्रामा सुन र नगद चोरी भएको खुलेको छ । 
 
भदौ २४ गतेको प्रदर्शनका क्रममा शाखा कार्यालय तोडफोड गरी हालको बजार मूल्यअनुसार साढे ३३ करोड रुपैयाँ बराबरको १८ किलोभन्दा बढी सुन र ५ करोड रुपैयाँ बढी नगद लुटपाट भएको पाइएको हो । 
 
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालका अनुसार बैंकको भल्टसम्म पुगेर आइरन गेट फोडेर चोरी भएको पुष्टि भएको छ । बैंकले लुटपाटबारेको सीसीटीभी फुटेज प्रहरीलाई बुझाइसकेको छ । चोरीमा प्रयोग भएको सुन ऋणीबाट धितोका रूपमा लिइएको समेत भएको बैंकले जनाएको छ ।
 
संसद भवनमा तोडफोड र आगलागी भएलगत्तै एक समूहले बैंक शाखामा प्रवेश गरी तोडफोड, आगजनी र लुटपाट गरेको थियो । घटनाक्रम मध्यरातसम्म चलेको र राति १० बजेपछि सेना परिचालन भएपछि तोडफोड गरिरहेका पाँच जनालाई नियन्त्रणमा लिइएको बताइएको छ।
 
तर, सुन र नगद चोरी गर्ने समूह भने अझै पहिचान भएको छैन। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सोमबार शाखाको अवलोकन गर्दै क्षतिको अवस्थाबारे जानकारी लिएका छन् ।