बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको लगानी व्यवस्थापनमा नयाँ नियम लागू भएको छ। अब एउटै लगानीकर्ताले कम्पनीको ५ प्रतिशत वा सोभन्दा बढी सेयर खरिद गरेमा नेप्सेमा तुरुन्त जानकारी दिनुपर्ने व्यवस्था कायम भएको छ।
नेप्सेले सूचीकृत संस्थाहरुलाई वित्तीय विवरणसँगै सम्पूर्ण लगानी विवरण समयमै उपलब्ध गराउन निर्देशन दिएको छ। यसअनुसार कम्पनीले लेखापरीक्षण भएको वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र, तथा त्रैमासिक विवरण त्रैमासिक सकिएको १ महिनाभित्र नेप्सेलाई उपलब्ध गराउनुपर्छ।
साथै, बुक क्लोज गर्ने, १० करोडभन्दा बढी सम्पत्ति खरिद/बिक्री, सञ्चालक समिति वा सदस्यमा फेरबदल, र १० करोडभन्दा बढी दायित्व बहन गर्ने निर्णय पनि तत्काल नेप्सेलाई जानकारी दिनुपर्ने नियम लागू भएको छ।
नेप्सेले सूचीकृत कम्पनीहरुलाई कुल १९ प्रकारका विवरण नियमित रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ, जसले लगानीकर्तालाई पारदर्शी जानकारी प्राप्त गर्न मद्दत पुर्याउनेछ।