अब चिया पसलबाटै बैंकिङ कारोबार गर्न पाईने भएको छ । जनता बैंक नेपाल र सक्षम कार्यक्रमको सहकार्यमा पिओएसको प्रविधीबाट ग्रामीण क्षेत्रमापनि सहजै बैंकिङ कारोबार गर्न पाईने भएको हो । जनता बैंकले सक्षमको सहकार्यमा सुदुरपश्चिमका ४ जिल्लाहरु दाङ, दार्चुला, कैलाली र अछाममा पोईन्ट अफ सेल (पिओएस)मेसीनबाट बैकिङ कारोबार गर्नको लागि ५० वटा नयाँ शाखारहित ईकाई स्थापना गर्न लागेको काठमाडौँमा आयोजित एक कार्यक्रमबिच जानकारी दिईयो ।
‘पिओएस’ एक किसीमको ‘पोर्टेवल’ मेसिन हो । यसका माध्यमबाट सिधै खाता खोल्न तथा कारोबार गर्न सकिन्छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणी शिवाकोटिले जम्मा जनसंख्याको ५० प्रतिशत जनतामा औपचारीक बैंकिङ कारोबारको पहुँच विस्तार गर्न नसक्नु दुखद भएको बताउँदै विगतका वर्षहरुदेखि बैंक मर्जर र एक्विजीसनको नीति नेपाल राष्ट्र बैंकले लिएको भएता पनि शाखा विस्तार तथा शाखारहित बैकिङ कारोबार तथा मोबाईल बैंकिङ जस्ता पाटोहरुमा दृढ भएर लागेको बताए । “असार मसान्तसम्मको तथ्यांक हेर्दा १ करोड ४३ लाख ३४ हजार नेपालीले विभिन्न बैंकमा खाता खोलेको देखिन्छ । यसकारण पनि देशको कुल जनसंख्याको ५० प्रतिशतभन्दा धेरैे जनसंख्या बैंकिङ पहुँचमा पुगेको देखिन्छ ।” कार्यक्रममा बोल्दै जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले सक्षम नेपालसँग सहकार्य गरेर ग्रामीण स्तरमा शाखारहित बैंकिङ सेवा विस्तार गर्न पाउँदा अत्यन्त हौसला मिलेको बताए ।
यसअघि पनि सक्षम कार्यक्रमले ७ वटा कमर्शियल बैंकहरुसँग मिलेर भुकम्प प्रभावित विभिन्न जिल्लामा शाखारहित बैंकिङ ईकाई सुरु गरिसकेको छ । १२३ वटा शाखारहित ईकाई सञ्चालन गर्दा ग्रामिण स्तरका जनतालाई बैंकिङ कारोबारमा संलग्न गराउन सहज भएकोले यो सेवालाई बढावा दिएको सक्षम नेपालका सूचना अधिकृत उत्सव शाक्यले बैंकिङ खबरलाई जानकारी दिए । सक्षम नेपाल वित्तिय साक्षरताका लागि बेलायतको सहयोगमा सञ्चालित कार्यक्रम हो । डीएफआईडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यमा लुईस वर्जरद्धारा यस कार्यक्रम सञ्चालित छ ।




