२०८२ श्रावण २५ गते

जीवन बीमा कम्पनीको बीमाशुल्क दुई खर्ब नजिक

बैंकिङ खबर/ नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको अवधिमा करिब दुई खर्ब रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, कम्पनीहरूले एक वर्षमा १ खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बीमाशुल्क १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा यो वर्ष १६.०५ प्रतिशतले वृद्धि भएको हो। व्यवसायिक आम्दानीमा नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहँदा, बृद्धिदरका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ।

समीक्षा अवधिमा नेपाल लाइफले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ (१७.५९% वृद्धि) र नेशनल लाइफले २२ अर्ब ४२ करोड रुपैयाँ (१६.७७% वृद्धि) बीमाशुल्क आर्जन गरेका छन्।

एलआइसी नेपालको आम्दानी १०.०४% बढेर १९ अर्ब ९२ करोड रुपैयाँ, हिमालयन लाइफको ६.३४% बढेर १७ अर्ब ६६ करोड रुपैयाँ, सूर्यज्योति लाइफको १७.७५% बढेर ११ अर्ब १८ करोड रुपैयाँ, र एशियन लाइफको २७.२३% बढेर १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड, सिटिजन लाइफले ७ अर्ब ५१ करोड, सानिमा रिलायन्स लाइफले ७ अर्ब, मेट लाइफले ६ अर्ब २५ करोड, आइएमई लाइफले ५ अर्ब ६५ करोड, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड र सन नेपाल लाइफले ५ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन्।

बृद्धिदरका हिसाबले सन नेपाल लाइफ २८.८०% वृद्धि सहित शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानमा एशियन लाइफ (२७.२३%) र तेस्रो स्थानमा रिलायबल नेपाल लाइफ (२५.५५%) रहेको छ।