Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढायो

admin २०८२ श्रावण १२ गते
सेयर:

 

बैंकिङ खबर/विश्व बैंकले यही जुलाईदेखि लागू हुने गरी नेपाललाई दिँदै आएको ऋणको ब्याजदर वृद्धि गरेको छ। अब नेपालले लिने विकास सहायतामा ०.७५ प्रतिशतको सट्टा १.५ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले नयाँ ब्याजदरबारे जानकारी दिएका हुन्। शर्माका अनुसार यो परिवर्तन विश्व बैंकको पछिल्लो नीति अनुसार भएको हो। “गएको जुलाईदेखि वर्ल्ड बैंकले इन्ट्रेस्ट रेट बढाएको छ,” उनले भने, “पहिले हामीले लिने ऋण ४० वर्षभित्र तिर्ने व्यवस्था थियो, अहिले अवधि घटेर ३० वर्षमा सीमित भएको छ।”

नेपालले पछिल्लो समय गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति पाएपछि यस्तो परिवर्तन भएको हो। “अब किन ब्याज बढ्यो त? हामी धनी भएर हो,” शर्माले व्यंग्यात्मक शैलीमा भने, “पहिले लो–इन्कम क्याटगरीमा थियौं, अहिले अलिक माथि आएका छौं।”

उनले विश्व बैंकको ‘कन्ट्री पार्टनर फ्रेमवर्क’ र एसियाली विकास बैंकको ‘कन्ट्री पार्टनर स्ट्राटेजी’सँग मिलाएर सहयोगको प्राथमिकता निर्धारण गरिने जानकारी पनि दिए। नेपालले लिने वैदेशिक सहायता परियोजनाहरू छनोट गर्न ‘प्रोजेक्ट रेडिनेस फिल्टर’ लागू गरिएको समेत उनले उल्लेख गरे।

“अब हिजो जस्तो सजिलै परियोजना स्वीकृति पाइने अवस्था छैन,” शर्माले भने, “परियोजनाको गुणस्तर, प्रतिफल र प्राथमिकतालाई मध्यनजर गरेरमात्र सहयोग लिइनेछ।”

कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिव डोलेन्द्र शर्माले वैदेशिक सहायता व्यवस्थापनबारे प्रस्तुति दिँदै कतिपय प्रतिबद्ध सहायता समयमा कार्यान्वयन नहुने अवस्था आउने बताएका थिए। उनले एमसीसी परियोजनाको उदाहरण दिँदै भने, “यस वर्ष करिब सात अर्ब बजेट एमसीसीका लागि छुट्याइएको छ। यदि निरन्तरता नभएको भए त्यो रकम कार्यान्वयन देखिँदैन थियो।”

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।