२०८२ श्रावण ९ गते

धितोपत्र बोर्डको सञ्चालक समितिबाट बाहिरिए नीलबहादुर

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा इस्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपाल (आईक्यान)को तर्फबाट प्रतिनिधित्व गर्दै आएका नीलबहादुर सारु मगर समितिबाट बाहिरिएका छन्। उनी आईक्यानका उपाध्यक्ष रहँदा बोर्ड सदस्य थिए । सारु मगर साउन २ गते आईक्यानको अध्यक्षमा निर्वाचित भएपछि बोर्डको सदस्य पद स्वतः रिक्त भएको हो। धितोपत्र बोर्डले अब आईक्यानबाट नयाँ प्रतिनिधि मनोनयन गरी पठाइने जनाएको छ।

उनको बाहिरिएसँगै बोर्ड सञ्चालक समितिमा अहिले चार जना सदस्य मात्रै रहेका छन्। बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको संयोजकत्वमा रहेको समितिमा हाल अर्थ मन्त्रालयका सहसचिव महेश बराल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र विज्ञ भोलानाथ ढुंगाना सदस्य छन्। यसअघि उद्योग वाणिज्य महासंघका प्रतिनिधि गोकर्ण अवस्थीले पनि व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिबाट राजीनामा दिएका थिए।