२०८२ श्रावण ६ गते

लगानीकर्ताको आत्मविश्वास र मौद्रिक नीतिको प्रभावले शेयर बजार नयाँ उचाइतर्फ

बैंकिङ खबर/पछिल्लो समय मौद्रिक नीति सार्वजनिक भएपछि शेयर बजारमा देखिएको उछालले लगानीकर्ताको आत्मविश्वास थप बढाएको छ। मंगलबारको कारोबारमा नेप्से परिसूचक ८०.९७ अंकले वृद्धि भई २.७९ प्रतिशतको वृद्धिसहित २९७०.७० बिन्दुमा पुगेको छ। बजार लगातार उकालो लाग्दै गर्दा लगानीकर्ताबीच पुनः उत्साह फैलिएको देखिन्छ।

बजार उकालो लागेपछि आज सबै उपसमूहमा हरियाली छाएको छ। उत्पादनमूलक, जीवन बीमा र लघुवित्त समूहले क्रमशः ४.६३, ४.३६ र ४.०७ प्रतिशतको उल्लेखनीय वृद्धि गरेका छन्।

कुल ३१९ कम्पनीका ४ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ नाघेको छ। यसले बजारमा बढ्दो तरलता र लगानीकर्ता सक्रियता प्रष्ट पार्दछ।

विशेषतः ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त र बिन्ध्यवासिनी हाइड्रो जस्ता कम्पनीका लगानीकर्ताले आज ९ प्रतिशतभन्दा बढी नाफा कमाएका छन्।

यता, लुम्बिनी विकास बैंक को ऋणपत्रमा लगानी गर्नेहरूले भने ३.९४ प्रतिशतको सबैभन्दा बढी घाटा व्यहोर्नुपर्‍यो।

नेपाल पुनर्बीमा कम्पनीको आज सर्वाधिक कारोबार भएको छ, जसको कुल कारोबार ७१ करोड ८८ लाख रुपैयाँ नाघेको छ।

साताको सुरुआतदेखि बजार लगातार सकारात्मक छ। आइतबार ०.३२ अंक र सोमबार २१.७६ अंकले उकालो लागेको बजारले मंगलबार तीव्र गति लिएको हो। विश्लेषकहरूका अनुसार यो वृद्धिको पछाडि लगानीकर्ताको आशावादी मनोविज्ञान र सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत स्पष्टताले प्रमुख भूमिका खेलेको छ।

पछिल्लो समय बजारमा देखिएको पुनः विश्वास र स्थायित्वका संकेतले अब नेप्से सूचक ३००० बिन्दुको मनोवैज्ञानिक रेखा पार गर्ने अनुमान समेत गरिँदैछ।