
बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।
अध्यक्ष शरद ओझाको शैक्षिक योग्यता र नियुक्ति प्रक्रिया सम्बन्धमा प्रश्न उठेपछि सरकारद्वारा उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। छानबिन सुरु भएसँगै ओझा निलम्बनमा परेका हुन्।
सरकारले समिति गठन गर्दै एक महिनाभित्र प्रतिवेदन दिन निर्देशन दिएको छ। समितिमा बीमा विज्ञ कपिल ओली र एक अर्थशास्त्री सदस्य रहेका छन्। समितिको प्रतिवेदनका आधारमा ओझाको भविष्यबारे सरकार निर्णय गर्नेछ। शरद ओझा गत फागुन १२ गते बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। नियुक्तिको साढे चार महिनामै उनी छानबिनमा तानिँदा बीमा प्राधिकरणको नेतृत्व फेरिएको हो।


