बैंकिङ खबर/नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिलाई ‘सजगतापूर्वक ल्याइएको लचिलो नीति’ को रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यो नीतिले शिथिल बनेको आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण सहजता ल्याउनेछ।
अध्यक्ष अग्रवालले १० प्रतिशत रकम तिरेर कर्जा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्थालाई पीडित उद्यमीहरूका लागि ठूलो राहतको रूपमा उल्लेख गरे। यसले व्यवसायलाई निरन्तरता दिने र वित्तीय बोझ घटाउने उनको विश्वास छ।
अग्रवालका अनुसार सेयर धितो कर्जाको सीमा २५ करोड रुपैयाँसम्म पुर्याइनुले पूँजी बजारमा तरलता बढाउनेछ। यस्तै, घर किन्नका लागि कर्जा सीमा ३ करोड रुपैयाँ कायम गरिनुले रियल स्टेट क्षेत्रमा सक्रियता ल्याउनेछ। बैंकले मूल्याङ्कन गरेको सम्पत्तिको ८० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्थाले कारोबारलाई सहज बनाउने र क्रेता–बिक्रेताबीचको गतिशीलता पुनःस्थापित गर्ने अग्रवालको भनाइ छ।




