Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीको मुद्दति निक्षेपमा लगानी १२.७५ प्रतिशतले बढ्यो

२०८२ असार २४ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा गरेको लगानीमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो लगानी १२.७५ प्रतिशतले बढेको हो।

राष्ट्र बैंकका अनुसार जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा बैंक तथा वित्तीय संस्थामा ६ खर्ब ५५ अर्ब ६१ करोड ८३ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा राखेका छन्। अघिल्लो वर्षको जेठ मसान्तसम्म यो लगानी ५ खर्ब ८१ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ थियो।

अन्य निकायको लगानी स्थिति

कर्मचारी सञ्चय कोषको लगानी घट्यो

समीक्षा अवधिमा कर्मचारी सञ्चय कोषले बैंकहरूमा राखेको मुद्दति निक्षेप २.४१ प्रतिशतले घटेर १ खर्ब ७२ अर्ब ६८ करोड ४० लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यो रकम १ खर्ब ७६ अर्ब ९५ करोड २९ लाख रुपैयाँ थियो।

नागरिक लगानी कोषको लगानीमा उल्लेखनीय वृद्धि

नागरिक लगानी कोषको बैंकहरूमा मुद्दति निक्षेपको रूपमा लगानी १४.९७ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब ४१ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो लगानी १ खर्ब १४ अर्ब ३० करोड ४० लाख रुपैयाँ थियो।

व्यक्तिगत निक्षेप पनि बढ्दै

व्यक्तिगत निक्षेपको आकार पनि १२.३६ प्रतिशतले बढेर ४३ खर्ब ९७ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ३९ खर्ब १४ अर्ब १८ करोड ५४ लाख रुपैयाँ थियो।

ब्याजदर सम्बन्धी व्यवस्था

राष्ट्र बैंकले संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपको भन्दा अधिकतम १ प्रतिशत कम मात्र गर्न सकिने व्यवस्था गरेको छ।यसले वित्तीय संस्थामा बीमा कम्पनी र अन्य संस्थागत निकायको लगानी झन् सुरक्षित र आकर्षक बन्ने संकेत दिएको छ।