
बैंकिङ खबर / महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराज नेपालको ११.११ अभियानअन्तर्गत विशेष छुट पाउने भएका छन् । बैंक र दराज नेपालबीच भएको सहकार्यअनुसार ग्राहकले कार्डमार्फत सामान खरिद गर्दा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार २०८३ कात्तिक १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने योजनामा डेबिट कार्ड प्रयोगकर्ताले खरिद रकमको १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाउनेछन् । त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले खरिद रकमको २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो छुट प्राप्त गर्न ग्राहकले दराजबाट सम्बन्धित भौचर संकलन गर्नुपर्नेछ । योजनाअन्तर्गत छुट वितरण गर्दा सहभागी हुने ग्राहकलाई पहिलो प्राथमिकता दिइने बैंकले जनाएको छ ।
डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहकलाई सहज भुक्तानी सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले दराजसँग सहकार्य गरेको हो । यसबाट ग्राहकलाई अनलाइन खरिदमा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल भुक्तानीको प्रयोग विस्तारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।