Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सम्पत्ति शुद्धीकरण रोकथाममा बीमा कम्पनीहरू सजग हुन आवश्यकः अध्यक्ष ओझा

२०८२ असार १० गते

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरणविरुद्ध रोकथामका उपायहरू प्रभावकारी रूपमा अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।

प्राधिकरणद्वारा एएमएल-सीएफटी कार्यान्वयनबारे दक्षता अभिवृद्धिका लागि आयोजित दुई दिने तालिमको समापन गर्दै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरण निवारणका लागि शाखा तथा उपशाखा कार्यालयका कर्मचारीहरूलाई आन्तरिक रूपमा तालिम दिनुपर्ने बताए।

‘जोखिमको मूल्याङ्कन एकरूप हुनुपर्छ,’ उनले भने, ‘एउटाले जोखिम देख्ने र अर्कोले नदेख्ने अवस्था अस्वस्थ प्रतिस्पर्धा निम्त्याउँछ। सबै कम्पनीले जोखिमलाई एकनासले हेरे राम्रो प्रतिस्पर्धा र दिगो विकास सम्भव हुन्छ।’

शंका लाग्दा तुरुन्तै सम्बन्धित निकायमा जानकारी दिनुपर्ने उनले स्पष्ट पारे। अवैध रकमको प्रवेश रोक्न तल्लो तहसम्मबाट नै सकारात्मक प्रयास आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले तालिमबाट प्राप्त ज्ञानलाई कार्यस्थलमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे। दुई दिनसम्म चलेको कार्यक्रममा बीमा कम्पनीमा लागू हुने सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, नियम, निर्देशिका तथा अन्तर्राष्ट्रिय मापदण्डबारे जानकारी दिइएको थियो।