
बैंकिङ खबर/ नेकपा (एकीकृत समाजवादी) का सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीले आफूले कुनै आर्थिक लेनदेन नगरेको दाबी गर्दै चेक अनादरको उजुरीमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
रोल्पाका धात बुढा मगरद्वारा चेक बाउन्स मुद्दा दायर भएपछि चौधरीले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका हुन्। उनले मगरसँग आफन्तको नातासम्बन्ध रहेको उल्लेख गर्दै ‘भान्जा मर्न लागेँ मामा भनेपछि चेक दिएको’ बताएका छन्।
‘आमापछिको मामा भन्थ्यो, मैले भान्जा भन्थे,’ चौधरीले भने, ‘सरकारी कामकाजका क्रममा कहिलेकाहीँ सहयोग गर्थेँ। त्यसबाहेक कुनै आर्थिक कारोबार हामीबीच भएको छैन।’
चौधरीले अझै खुलासा गर्दै भान्जाको चेक आफूले पनि राखेको तर पानीले भिजेको हुँदा नयाँ चेक माग्दा नदिएको बताए। ‘अहिले चेक अनादर मुद्दा दर्ता भएको सुनेको छु, तर मेरो न त त्यति धेरै पैसा छ, न त लेनदेन नै भएको हो,’ उनले भने।
उनले उक्त मुद्दा नियोजित रूपमा आफूलाई फसाउने नियतसाथ अघि सारिएको आरोप पनि लगाए।




