
बैंकिङ खबर/ निर्जीवन बीमा व्यवसायीहरुले संस्थापक सञ्चालकले एक वर्ष नपुग्दै सेयर बिक्री गर्न नपाउने प्रावधानलाई तत्काल संशोधन गर्न माग गरेका छन्। नेपाल निर्जीवन बीमा व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को नियम ३८ (१ क) लाई अव्यावहारिक भन्दै ध्यानाकर्षण गराएको हो।
वर्तमान व्यवस्था अनुसार कुनै सञ्चालकले पदमा रहँदा वा पदबाट बाहिरिएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद–बिक्री गर्न पाउँदैनन्। महासंघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले यो व्यवस्था लगानीकर्ताको मौलिक हकमा अतिक्रमण भएको बताए।
‘सञ्चालक पनि अन्य सेयरधनीसरहका लगानीकर्ता हुन्। उनीहरूले आफ्नै लगानी उपयोग गर्न नपाउनु अन्यायपूर्ण हो,’ मल्लले विज्ञप्तिमा उल्लेख गरेका छन्।
महासंघले धितोपत्र बोर्ड, बीमा प्राधिकरणलगायत सम्बन्धित निकायलाई नियम संशोधन गर्न आग्रह गर्दै सञ्चालक पदमा रहँदा नियामकलाई जानकारी दिएर सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गर्नुपर्ने माग राखेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सञ्चालकको प्रतिनिधित्व सेयरधनीको तर्फबाट भएको हो। उनीहरूलाई सेयर कारोबारबाट रोक लगाउनु लगानी स्वतन्त्रताविपरीत छ’ महासंघले सेयर बजारको पारदर्शिता कायम राख्दै सञ्चालकलाई पनि न्यायोचित व्यवहार हुने गरी नियमको पुनरावलोकन हुनुपर्नेमा जोड दिएको छ।




