
बैंकिङ खबर/ वाणिज्य बैंकहरूले विदेशी बैंकबाट ३९ अर्ब बढीको ऋण लिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म १० वाणिज्य बैंकले कुल ३९ अर्ब ६३ करोड रुपैयाँ ऋण लिएका हुन्। यो ऋण गत वर्षको तुलनामा भने कम नै हो।
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले कुल ४८ अर्ब २७ करोड यस्तो ऋण लिएका थिए। करिब ७ अर्ब बराबरको लगानीयोग्य रकम बोकेर बसेका बैंकहरूले गत चैत महिनाको तुलनामा वैशाखमा यस्तो ऋणलाई थप घटाउँदै लगेको तथ्यांकले देखाएको छ। चैत मसान्तसम्म बैंकहरूले विदेशी बैंकबाट ४१ अर्ब ४६ करोड ऋण लिएकोमा वैशाखसम्म आइपुग्दा २५.०४ प्रतिशतले घटेको हो।
२० वाणिज्य बैंकमध्ये १० वटाले मात्रै विदेशी बैंकहरूबाट ऋण लिएका छन्। राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैैंक, एनआईएमबी, एनएमबी, प्राइम, माछापुच्छ्रे, कुमारी, लक्ष्मी सनराइज र सानिमा बैंकले विदेशी बैंकहरूबाट ऋण लिएका हुन्।
जसमध्ये सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकले ऋण लिएको छ। यो बैंकले वैशाख मसान्तसम्म विदेशी बैंकबाट कुल १२ अर्ब ७ करोड ऋण लिँदा एनएमबी बैंकले ६ अर्ब ५८ करोड रुपैयाँ लिएको हो।
यस्तै सिद्धार्थ बैंकले ५ अर्ब ७२ करोड रुपैयाँ ऋण लिँदा एनआईएमबी बैंकले ५ अर्ब ४५ करोड, प्राइम बैंकले २ अर्ब ७३ करोड, सानिमा बैंकले २ अर्ब ५९ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब ५ करोड रुपैयाँ ऋण लिएका हुन्।




