Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘काम गरौं आफ्नै देशमा’ अभियानको शुभारम्भः देशभित्रै आर्थिक सम्भावना खोज्न अर्थमन्त्रीको आग्रह

२०८२ जेष्ठ ३१ गते

बैंकिङ खबर/दैनिक २ हजार बढी युवाहरु विदेशीरहेको बेला नेपालमै ‘काम गरौं आफ्नै देशमा’ अभियानको शुभारम्भ गरिएको छ । मिडिया इन्टरनेसनल र बैंकिङ खबर डटकमले काठमाडौंमा आयोजित विशेष समारोकाबीच उक्त अभियानको शुभारम्भ गरिएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा बत्तिका साथै डिजिटल प्रविधिबाट कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री पौडेलले मान्छेले अन्तरिक्षमा सम्भावना खोजीरहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरू किन खोजी नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए । स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको उनले बताए । आफ्ना जनशक्तिलाई देशभित्र कसरी रोक्न सक्छौँ ? कसरी सम्भावना देशभित्रै खोजी गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको उनले दाबी समेत गरे ।

उनले भने, ‘आफूभित्रको सम्भावना र आफ्नै देशको सम्भाव्यता बुझ्न सकेको देशले मात्रै विकासमा गति लिन्छ । जोसँग जे छ, त्यसैको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । नेपालसँग नभएको केही चिज नै छैन । नेपालमा संसारको सबैभन्दा अग्लो सगरमाथा छ, हिमाल, पहाड, तराई छ । हामीसँग अन्नको भण्डार पनि धेरै नै छ । फलफूलका निम्ति अत्यन्तै सम्भावना बोकेको पहाड छ । जडिबुटीका निम्ति सम्भावना बोकेको हिमाली क्षेत्र छ । हामीसँग भएको वनस्पति, वन्यजन्तु संसारमा छैन होला । हरेक हिसावले सम्पन्न छौं ।’

पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताए । उनले नेपालसँग करिब ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्याँसको खानी रहेको जिकिर गरे । ‘काम गरौं आफ्नै देशमा’ अभियानले देशभित्र सम्भावना, उद्यमीशिलताको खोजी गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथि नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं वरिष्ठ अर्थविद् चिरञ्जीवि नेपालले देशभित्र समुचित विकास भएमा वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताए ।

कार्यक्रममा पूर्वगभर्नर नेपालले जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने बताउँदै देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको बताए । सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौं नेपालीहरु पलायन हुने गरेको उल्लेख गर्दै उनीहरुलाई स्वदेश फर्कने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

उनले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको बताए ।

उनले भने, ‘हामीले विकास देशभित्र गर्नसक्यौँ भने कसैलाई रोक्नु पर्दैन, उनीहरु आफैं फर्किन्छन् । यो संसारमा कोही पनि फकाएर रोकेर आउनेवाला छैन । आफ्नो सुन्दर भविष्यको लागि गएको जमात हो । देशमा यस्तो वातावरण बनाउनुप¥यो कि उनीहरु फर्केर आओस् । भारतमा राजीव गान्धी प्रधानमन्त्री हुँदाखेरी जतिबेला त्यहाँको आर्मीले कू गर्यो । पछि भारतले आफ्नो देशका नागरिक जुनसुकै देशमा भएपनि तपाईंहरुको सुरक्षा भारत सरकारले गर्छ भनिसकेपछि भारतको नीतिमै परिवर्तन भयो । पछि संसारभर रहेका भारतीय मूलका व्यक्तिहरुले भारततिर हेर्न थाले । यसको मतलव देशले आहन पनि गर्ने, नीतिगत परिवर्तन पनि गर्ने र उनीहरुलाई राष्ट्रप्रतिको प्रेम अनुभव पनि हुने नीति अपनाउनुपर्छ ।’

उनले अगामी आर्थिक वर्षको बजेट विगतको तुलनामा प्रगतिशील रहेको बताए । मुलुकको वर्तमान परिस्थितिको सामना गर्नेगरी बजेट आएको पूर्वगभर्नर नेपालको भनाइ छ । उनले भने, ‘हामीले युवाहरुलाई देशभित्रै रोक्नुपर्दैन । विकास गर्यो भने उनीहरु आफै आउँछन् ।’ रोजगारी सिर्जन गर्ने, निजी क्षेत्रलाई सक्दो सहयोग गर्ने, अर्थतन्त्र उकास्ने खालको बजेट आएको उनले बताए ।

कतार जुन मुलुकमा बालुवा नै बालुवा छ त्यो मुलुकले सम्भावना देखाएको उनले बताए छ । हाम्रो मुलुक जुन ठाउँमा जस्तो ठाउँमा पनि उत्पादन हुने र काम गर्न अत्यन्त सहज रहेको उनको भनाइ छ । उनले भने,‘नेपाल अवसर नै अवसर रहेको देश हो । उत्पादन हुने देशमा हामी पछाडि परेका छौं ।’

यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पछिल्लो समय युवाहरु विदेशीने क्रम बढेको भन्दै आफ्नै देशमा केही गर्न सकिने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि मिश्रले वित्तीय शिक्षा र साक्षरताका माध्यमबाट कसरी रोजगारी बन्ने भन्ने विषयमा राष्ट्र बैंकले सिकाउँदै आएको बताए ।

विदेशमा मान्छे जानै नदिने भन्ने होइन् कि नेपाल फर्कने वातावरण निर्माण गर्नुपर्ने उनले बताए । नीतिमा समन्वय गरेर अगाडि बढ्दा स्वदेशमै प्रशस्त रोजगारी सिर्जना गर्न सकिने उनले बताए । नेपालमा काम गर्ने वातावरण बनाउन राष्ट्र बैंकले सहुलियत कर्जा प्रवाहलाई विशेष रुपमा समेट्ने पनि मिश्रले बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले युवाहरुलाई विदेश जानबाट रोक्न र नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताए । कार्यक्रममा मल्होत्राले नेपालका युवाहरुलाई आफ्नै देशमा अवसर खोज्न प्रेरित गर्ने आह्वान गरे ।

मल्होत्राले भने,‘नेपालका युवाहरू विदेश जानको लागि बाध्य भएका छन्, तर यसले दीर्घकालीन समाधान दिने छैन । यदि हामी नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्न सक्यौं भने, धेरै युवाहरू विदेश जान चाहँदैनन् ।’ उनले त्यसका लागि शैक्षिक प्रणालीमा सुधार र कलेजहरूको संख्या वृद्धि गर्ने प्रस्ताव समेत गरे ।

उनले भने, ‘हामी युवाहरुलाई नेपालमै काम गर्ने प्रोत्साहन दिनुपर्छ, त्यसका लागि हामी सहकार्य गर्न तयार छौं ।’ वैदेशिक रोजगारमा गएका युवाहरुलाई नेपाल फर्काएर कामका अवसरहरू उपलब्ध गराउनुपर्ने उनले जोड दिए ।

उनले भने, ‘नेपालमा ठूलो सम्भावना छ । यदि चेम्बर अफ कमर्स र अन्य निजी क्षेत्र मिलेर सही रणनीति बनाउन आवश्यक छ । हामी छिट्टै विदेशीएका युवाहरुलाई नेपालमै बोलाएर रोजगारीका अवसर दिने तयारीमा छौं ।’

मल्होत्राले नेपालको आगामी बजेटमा युवाहरुलाई रोजगारी दिनका लागि महत्वपूर्ण पहल भएको र यसलाई निजी क्षेत्रसँगको सहकार्यमा सफल बनाउन सकिने विश्वास व्यक्त गरे ।

उनले भने,‘नेपालमा एक लाख घर बनाउने र रियल स्टेट, सुरक्षा उद्योग, डड्डी उद्योग जस्ता क्षेत्रमा ठूलो अवसर उत्पन्न गर्न सकिन्छ । यसले लाखौं युवालाई रोजगारी दिनेछ ।’

उनले युवाहरुलाई नेपालमै रहि काम गर्न नयाँ अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताए । ‘नेपालका युवाहरू विदेशबाट रेमिट्यान्स पठाउँछन्, जसले देशको अर्थतन्त्रलाई चलायमान राख्दछ । तर, यदि रेमिट्यान्स नआएको भए, हाम्रो देशको स्थिति के हुन्थ्यो ?’ भन्दै उनले प्रश्न गरे ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालटानका अध्यक्ष सागर पाण्डेले नेपालका विविध क्षेत्रहरू निर्माण, टेक्नोलोजी, कृषि र पर्यटनमा अपार सम्भावना हुँदाहुँदै पनि अझै बहसमै सीमित रहने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाए ।

उनले भने, ‘अब सम्भावनाको चर्चा गरेर समय खर्च नगरी स्पष्ट एक्सन प्लान बनाउने र त्यसअनुसार अघि बढ्ने बेला आएको छ । ठूला व्यवसायीका लागि बजेट आउँछ तर साना संयन्त्रहरू चल्न सक्दैनन् । सबै क्षेत्रमा काम भइरहेको छ भन्ने सन्देश दिन एक्सन क्रिएट गर्न सक्नुपर्छ ।’

पाण्डेले बैंकिङ प्रणाली सबल नहुँदासम्म नेपालमा दीगो आर्थिक क्रियाकलाप सम्भव नहुने बताए । सबैका लागि सहज पहुँच (एक्सेस) नभएसम्म निजी क्षेत्र विकासमा अवरोध हुने धारणा व्यक्त गर्दै उनले कोल्याट्रल बिना पनि लगानी र व्यवसाय विस्तार सम्भव हुने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

उनले विदेशी लगानी नेपाल आउने बित्तिकै ‘राष्ट्रवाद’ को कुरा उठ्ने चलनप्रति पनि चिन्ता व्यक्त गरे । ‘राष्ट्रवाद भनेको अवरोध होइन, तर विकासमै बाधा पुर्‍याउने राष्ट्रवाद खतरनाक हो,’पाण्डेले भने।

उनले नेपालको भविष्य पर्यटनसँग गाँसिएको उल्लेख गरे । ‘एक जना पर्यटक नेपालमा आउँदा औसत ११.५ जनाले रोजगारी पाउँछन्,’ भन्दै पाण्डेले पर्यटन विकासले सबै उद्योगलाई तान्ने शक्ति भएको दाबी गरे ।

‘फरेन करेन्सी ल्याउन, स्थानीय रोजगारी सिर्जना गर्न र निजी क्षेत्रलाई चलायमान बनाउन पर्यटनले ठूलो भूमिका खेल्छ,’ उनले भने। तर यसको लागि मुख्य पूर्वाधार (इन्फ्रास्ट्रक्चर) को विकास अपरिहार्य रहेको उनले स्पष्ट गरे।

पाण्डेले निजी क्षेत्रलाई अगाडि ल्याउनका लागि राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता औंल्याए । ‘राज्यले मानसिकता बदल्न सक्यो भने नेपालमा धेरै सम्भव छ,’ उनले भने।

कार्यक्रममा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले नेपाल सम्भावना नै सम्भावना देश रहेको बताए । हरेक जनताको जीवनस्तर उकास्नुपर्ने र हरेक युवालाई उद्यमी बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

बजेटमार्फत नेपालका युवाहरुलाई ढाडस दिनुपर्ने उनले बताए । उनले भने, ‘देशलाई विकास गरौं, नेपालमा नै बसौं र देशलाई आत्मनिर्भर बनाऔं ।’

राष्ट्र बैंकको नीतिगत सुधारको खाँचो औंल्याउँदै उनले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताए । ‘युवालाई सस्तो ब्याजमा ऋण दिएर व्यवसायिक मार्गमा लैजान सके देश आफैँ आत्मनिर्भर बन्छ,’उनले भने । उनले युवालाई विदेश जानुभन्दा देशमै केही गर्न हौसला दिन अभियान सञलन गरिएको बताए ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय सदस्य प्रमोद लामिछाने, इन्जिनियर उमेश गुप्ता, प्रभु इन्सुरेन्सका ब्राण्ड एम्बेस्टर एवं युवा मोटिभेसनल स्पिकर स्वयम् बज्राचार्य, सिर्भरिङ एग्रो पिभिटीका साधुराम सिंह बस्नेतले प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा पूर्व मन्त्री एवं सांसद भगवती चौधरीले नेपालमा नै युवाहरूलाई उद्यमशील र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै राज्यले नीति तथा कार्यक्रममार्फत आशाजनक पहलहरू ल्याएको बताइन् । उनले भनिन्, ‘आज कृषि इको सिस्टमबारे धेरै कुरा हुन्छ, तर यथार्थमा सरकारी र गैरसरकारी संस्थाबाट कति लगानी भयो, कति किसानले वास्तविक रुपमा कृषि गरिरहेका छन् भन्नेतर्फ गम्भीर मूल्यांकन हुन सकेको छैन ।’

उनका अनुसार, दोस्रो पुस्ताले कृषिमा ध्यान नदिने अवस्था आउँदा देश छाड्ने प्रवृत्ति बढिरहेको छ । ‘बच्चाहरु हुर्कर्दै जाँदा कुन देश जाने भनेर सोध्नुपर्ने अवस्था आउँछ, अहिले विपन्नहरु कतार, दुबई, साउदी जाने स्थिति छ भने युवा पढेलेखेका युरोप र अमेरिका जाने स्थिति छ, तर त्यही पुस्तालाई नेपालमै कसरी राख्ने भन्ने सवालमा अहिले नीति तथा कार्यक्रमले केही सकारात्मक पहलहरू देखाएको छ,’ चौधरीले भनिन्।

सरकारको बजेट वक्तव्यमा उल्लेख भएको युवा र महिलालाई लक्षित गर्दै ३ लाखदेखि २० लाखसम्म ३ प्रतिशत ब्याजमा ऋण दिने प्रावधानलाई उदाहरण दिँदै चौधरीले भनिन्, ‘यदि सही ढंगले कार्यान्वयन भयो भने ५ वर्षभित्र नेपालमै धेरै युवाले केही गर्न सक्छन् ।’

कृषि, उद्योग, व्यवसाय र आइटी क्षेत्रलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उनले स्थानीय तहका प्रयास पनि सराहनीय रहेको बताइन् । ‘७५३ वटै स्थानीय तहमा उद्यम शाखा छ। किसानको तथ्यांक राख्न थालिएको छ। यो निकै सकारात्मक हो,’ उनले भनिन्।

चौधरीले नेपालमा टुरिजम र आइटी क्षेत्र युवा आकर्षणका मुख्य क्षेत्र हुन सक्ने बताउँदै नयाँ पुस्तालाई आइटीमा डोहोर्याउनुपर्नेमा जोड दिइन्। उनले सहकारी र लघुवित्तको क्षेत्रमा देखिएको विकृति–विसंगतिबारे पनि आलोचना गरिन् ।

‘मिटरब्याजी, लघुवित्त पीडित, सहकारीको रकम अपचलनले समस्या उत्पन्न भएको छ, यद्यपि, सबै लघुवित्त, सहकारी खराब छैनन् भन्ने पनि बुझ्नुपर्छ,’ उनले भनिन् ।

सहकारी नियमन विधेयक, लघुवित्त सम्बन्धी सुधारका प्रयास, तथा स्वरोजगार अभिवृद्धि गर्ने नीतिहरू अहिलेको समयको आवश्यकता भएको उनको धारणा छ । उनले थपिन्, ‘राज्यको नीति कार्यान्वयनसँगै जनस्तरमा सचेतना बढ्न जरुरी छ ।’

कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले नेपाललाई ‘सम्भावना नै सम्भावनाको देश’ भन्दै अब नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

यादवले भने, ‘विकास गाउँमा पुगेको छ, तर त्यहाँ काम गर्ने र उपभोग गर्ने जनशक्ति भने छैन। मानिसहरूलाई गाउँमै अड्याउने विषयमा अब गम्भीर सोंचविचार गर्नुपर्ने बेला आएको छ ।’

उनले नीति, कार्यक्रम र बजेटले मात्रै परिवर्तन सम्भव नहुने भन्दै कार्यान्वयन पक्षको जोडदिनुपर्ने बताए । ‘जबसम्म गाउँ–गाउँमा व्यक्ति उद्यमशील बन्न सक्दैन, तबसम्म बजेटले मात्रै नतिजा ल्याउन सक्दैन’उनले स्पष्ट पारे।

नेपालको भूगोल, उत्पादन क्षमता र स्रोतहरूको विविधता उल्लेख गर्दै उनले भने, ‘हरेक ठाउँमा सम्भावना छ। तर प्रश्न यो हो – उत्पादन भएको वस्तु यही खपत हुन्छ त ? किन हामी अधिकांश चिजहरू विदेशबाट आयात गर्दैछौं ?’

उनले उद्यमशीलताको सोचको विकास आवश्यक रहेको बताए । ‘केही पनि छैन भनेर गुनासो गर्नुको सट्टा, आफूलाई कसरी उद्यमशिलतातर्फ लैजाने भन्नेमा सोच्नुपर्छ। व्यवसायमा सीमा हुँदैन–जहाँ इच्छाशक्ति छ, त्यही बाटो खुल्छ,’ यादवले बताए ।

लघुवित्त सेवाको पहुँचबारे चर्चा गर्दै उनले भने, ‘लघुवित्त अहिले ६० लाख घरधुरीमा पुगिसकेको छ। घरघरमा सेवा दिइरहेका छौं, गरिब र कमजोर परिवारलाई सशक्तिकरणको यात्रामा जोडिरहेका छौं। विशेषगरी महिलालाई व्यवसाय र रोजगारीसँग जोडिएको छ।’

उनले तीन वटै तहको सरकारलाई स्थानीय उद्यमशीलता प्रवद्र्धनमा लघुवित्तलाई समावेश गर्न आग्रह गरे । ‘स्थानीय सरकारको उद्यमशिलता कार्यक्रम, प्रदेश र संघीय तहको संयन्त्र मिलाएर लघुवित्तलाई नीति र संस्थागत समर्थन दिन सके कृषिमा ठूलो परिवर्तन सम्भव छ,’ उनले भने ।

उनले थपे,‘नेपाल सम्भावना नै सम्भावनाको ठाउँ हो। इच्छा र लगनशीलता भयो भने परिवर्तन सम्भव छ। अबको आवश्यकता भनेको साच, नीति र कार्यान्वयनको त्रिवेणी मिलाउनु हो।’

यस्तै बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले नेपालमा युवाहरुलाई उद्यमशिलताको क्षेत्रमा आकर्षित गर्न बीमामा आवश्यक सुधार गर्न आवश्यक रहेको बताएका छन् । उनले भने, ‘नेपालमा युवाहरु व्यवसाय सुरु गर्न चाहन्छन्, तर तिनका व्यवसायलाई बीमा गर्न आवश्यक छ । यसका लागि नयाँ नीति र नियमको आवश्यकता छ ।’

महर्जनले युवाहरु बैंकमा लोन लिनको लागि जान्छन्, तर यसका लागि उपयुक्त बीमाको व्यवस्था नभएको बताए । ‘व्यवसायको भ्यालु एक करोड छ भने, २० लाखको लोन लिन्छन्, भने २० लाखको मात्र बीमा गर्छन । यदि व्यवसाय डुब्यो भने, २० लाखले मात्रै केहि रिकभर गर्न सकिँदैन् । यसैले नीति नियम परिवर्तन गर्न आवश्यक छ,’महर्जनले भने।

उनले स्टार्टअप र उद्यमशिलता बढाउनका लागि विशेष बीमा पोलिसीहरूको आवश्यकता रहेको बताए । ‘युवाहरु व्यवसायमा आउँछन्, उनीहरुको व्यवसायमा हुने रिक्सलाई बीमाले क्षतिपूर्ति दिन सक्छ । यसको लागि बीमा प्राधिकरणले नयाँ पोलिसी ल्याउन जरुरी छ ।’

महर्जनले बीमाको भविष्यमा कृत्रिम बुद्धिमत्ता (एआइ) को भूमिका पनि महत्त्वपूर्ण रहेको बताए । ‘विकसित देशहरुमा बीमा पोलिसी जारी गर्नुअघि रिक्स सिस्टमेन्ट गर्न एआई आवश्यक पर्छ, जसमा एआइको प्रयोग बढ्दो छ । नेपाल जस्तो विकासशील देशमा पनि एआइको प्रयोग बीमामा गर्न सकिन्छ,’उनले भने।

यस्तै उनले युवाहरुलाई व्यवसायमा टिकाइ राख्न र उनीहरुको व्यवसायको सुरक्षा सुनिश्चित गर्न बीमाको महत्वपूर्ण भूमिका रहेको बताए । सरकार लगायत बैंक वित्तीय क्षेत्र र बीमा मिलेर कस्तो खालको पोलिसी ल्याउँदा स्टाटपलाई सहयोग हुन सक्छ, सोही अनुसार पोलिसी ल्याउन आवश्यक रहेको उनले बताए ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव माधव आचार्यले नेपालमा उद्यमशीलता विकासका लागि कानूनी संरचना, साेंच र प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताए । उनले भने, ‘बैंक र उद्यमीबीचको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ, बैंक उद्यमीका लागि र उद्यमी बैंकका लागि अपरिहार्य हुन् ।’


तर स्टार्टअप र नयाँ व्यवसायमा जोखिम बढी हुने भएकाले बैंकलाई कर्जा प्रवाह गर्दा सावधानी अपनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘ऋण दिनुअघि रिकभरीको अवस्था कस्तो छ, कति छ भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ ।’ कर्जा लगानी पछिको प्रक्रिया र संरचनामा समस्या देखिएको उनको भनाइ छ ।

यस्तै उनले केही व्यक्तिहरुमा बैंकबाट लिएको ऋण फिर्ता गर्नु पर्दैन भन्ने मानसिकता रहेको भन्दै यस्तो भ्रममा पर्न नहुने बताए । उनले कर्जाको लगानीपछि तिर्नुपर्छ भन्ने जिम्मेवारीबोधको सोंच पनि विकसित हुन जरुरी रहेको बताए । स्थानीय प्रतिनिधिले नै बैंकले धितो सकार गर्न खोज्दा अवरोध सिर्जना गर्ने गरेको बताए ।

आचार्यले कानून बनाउने र कार्यान्वयन गर्ने अधिकारीहरू स्वयंले उद्यमशिलताको मर्म नबुझेको आरोप लगाए । उनले हालको अवस्थामा बैंकहरुले उद्यमशीलता प्रवद्र्धनमा हातेमालो गर्न चाहेको उल्लेख गरे । ‘हामी बैंकहरू उद्यमीलाई साथ दिन तयार छौं। तर प्रणालीले सहज ऋण प्रवाह गर्न नसक्दा समस्या भएको छ’आचार्यले भने।

उनका अनुसार उद्यमशीलताको विकासको दृष्टिले नेपालमा अपार सम्भावना छ, तर सबैभन्दा पहिला सोंच परिवर्तन हुनुपर्छ । ‘नेपाल समाजमा सबैभन्दा पहिला माइन्डसेट चेन्ज आवश्यक छ। सोंच परिवर्तन बिना विकास सम्भव छैन,’ उनले भने । उनले राज्यको अनुदान र कर्जासम्बन्धी नीति उपयोगी भए पनि त्यसको सही कार्यान्वयन हुन नसकेको बताए ।

कार्यक्रममा हिकास्ट कलेजका प्रिन्सिपल डा.श्रीराम नेउपानेले नेपालको कृषिक्षेत्रले पहिले अर्थतन्त्रमा ५० प्रतिशत योगदान दिएपनि हाल त्यो घटेर २५ प्रतिशतमा झरेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने,‘कृषिले अर्थतन्त्र मात्र होइन, पर्यटनमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ । कृषि वातावरण, संस्कृति र जीवनशैलीसँग जोडिएको विषय हो ।’ कृषिको योगदान मात्र कम भएको होइन, उत्पादन उपभोक्तासम्म पुग्न नसक्दा त्यसको श्रृंखलामै समस्या उत्पन्न भएको उनले बताए ।

उनले भने, ‘हामी उत्पादन गर्छौं, तर त्यो उत्पादन बजारसम्म पुग्दैन। मूल्य श्रृंखलामा पुग्न नसकेको यो मुख्य चुनौती हो ।’
डा. नेउपानेले नयाँ पुस्तालाई उद्यमशीलतामा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिँदै भने, ‘अबका विद्यार्थीहरू केवल रोजगारी खोज्ने होइन, आफैं उद्यमी बनेर अरूलाई रोजगारी दिने साेंचका साथ अघि बढ्नुपर्छ। मैले विद्यार्थीलाई निरन्तर यही आग्रह गरिरहेको छु ।’

सरकार एक्लै केही गर्न सक्दैन भन्ने उल्लेख गर्दै उनले निजी क्षेत्रको संलग्नता अनिवार्य रहेको बताए। ‘सार्वजनिक–निजी सहकार्यबिना कृषि, उद्योग वा कुनै पनि क्षेत्रमा दीगो परिवर्तन सम्भव छैन,’ डा. नेउपानेले भने । कार्यक्रममा उनले कृषिका विविध पक्षबारे प्रकाश पार्दै नीति, शिक्षा र उद्यमशीलताको त्रिकोणात्मक सम्बन्ध निर्माण गर्नुपर्ने बताए ।