
बैंकिङ खबर/बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले नेपालमा युवाहरुलाई उद्यमशिलताको क्षेत्रमा आकर्षित गर्न बीमामा आवश्यक सुधार गर्न आवश्यक रहेको बताएका छन् । मिडिया इन्टरनेशनल र बैंकिङ खबर डटकमको ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको शुभारम्भ कार्यक्रमको दोस्रो सेसनमा बोल्दै उनले भने, ‘नेपालमा युवाहरु व्यवसाय सुरु गर्न चाहन्छन्, तर तिनका व्यवसायलाई बीमा गर्न आवश्यक छ । यसका लागि नयाँ नीति र नियमको आवश्यकता छ ।’
महर्जनले युवाहरु बैंकमा लोन लिनको लागि जान्छन्, तर यसका लागि उपयुक्त बीमाको व्यवस्था नभएको बताए । ‘व्यवसायको भ्यालु एक करोड छ भने, २० लाखको लोन लिन्छन्, भने २० लाखको मात्र बीमा गर्छन । यदि व्यवसाय डुब्यो भने, २० लाखले मात्रै केहि रिकभर गर्न सकिँदैन् । यसैले नीति नियम परिवर्तन गर्न आवश्यक छ,’महर्जनले भने।
उनले स्टार्टअप र उद्यमशिलता बढाउनका लागि विशेष बीमा पोलिसीहरूको आवश्यकता रहेको बताए । ‘युवाहरु व्यवसायमा आउँछन्, उनीहरुको व्यवसायमा हुने रिक्सलाई बीमाले क्षतिपूर्ति दिन सक्छ । यसको लागि बीमा प्राधिकरणले नयाँ पोलिसी ल्याउन जरुरी छ ।’
महर्जनले बीमाको भविष्यमा कृत्रिम बुद्धिमत्ता (एआइ) को भूमिका पनि महत्त्वपूर्ण रहेको बताए । ‘विकसित देशहरुमा बीमा पोलिसी जारी गर्नुअघि रिक्स सिस्टमेन्ट गर्न एआई आवश्यक पर्छ, जसमा एआइको प्रयोग बढ्दो छ । नेपाल जस्तो विकासशील देशमा पनि एआइको प्रयोग बीमामा गर्न सकिन्छ,’उनले भने।
यस्तै उनले युवाहरुलाई व्यवसायमा टिकाइ राख्न र उनीहरुको व्यवसायको सुरक्षा सुनिश्चित गर्न बीमाको महत्वपूर्ण भूमिका रहेको बताए । सरकार लगायत बैंक वित्तीय क्षेत्र र बीमा मिलेर कस्तो खालको पोलिसी ल्याउँदा स्टाटपलाई सहयोग हुन सक्छ, सोही अनुसार पोलिसी ल्याउन आवश्यक रहेको उनले बताए ।




