
बैंकिङ खबर/नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र चलायमान हुन नक्नुको कारण लघुवित्त र सहकारीको समस्या भएका कारणले भएकाे बताएका छन् । सोमबार आयोजित ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष ०८२/०८३ को बजेट’ शीर्षक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणमध्ये एक सहकारी र लघुबित्तमा देखिएको समस्याको नकारात्मक प्रभाव रहेको भएपनि अर्थमन्त्री र सरकारको ध्यान त्यसतर्फ नगएको उनको भनाइ थियो ।
‘अर्थतन्त्र चलायमान हुन नक्नुको कारण लघुवित्त र सहकारीको समस्या पनि हो’, उनले भने, ‘त्यसमा अर्थमन्त्रीको ध्यान गएको देखिएन ।’
यसैगरी, उनले अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई छुन नसकेको बताएका छन् । बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै उनले आपत्ति जनाए ।
फरक प्रसंगमा पुनले आगामी आर्थिक वर्षको बजेटमा सहरी विकास मन्त्रालयलाई मागेको भन्दा बढी रकम दिइएकामा आशंका रहेको बताए ।
उक्त मन्त्रालयको सिलिङ ९१ अर्ब रहेकामा २७ अर्ब बढाएर १ खर्ब १८ अर्ब बजेट दिइनुको कारण आफूहरुले खोज्ने उनले उल्लेख गरे । ‘७२ अर्बको सिलिङ भएको मन्त्रालयलाई २६ अर्ब बढी बजेट दिनुको कारण के हो ? खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको आशंका छ’, उनले भने ।
राष्ट्रिय योजना आयोगले सहरी विकास मन्त्रालयलाई ९१ अर्ब रूपैयाँ बजेटको सीमा (सिलिङ) तोकिदिएको थियो । यद्यपि उक्त मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रूपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा यो २८ प्रतिशतले बढी हो ।
सरकारका २२ मध्ये अधिकांश मन्त्रालयको बजेट सीमा घटेकामा सहरीको भने अस्वाविक रुपमा बढाइएको छ । काँग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकासमन्त्री छन् ।
अर्थमन्त्री विष्णु पौडेलले तीन करोडभन्दा कम बजेट विनियोजन नभएको दाबी गरिरहेको भए पनि सांसदहरुलाई उपलब्ध गराइएको रातो किताबको डिजिटल कपीमा सहरी मन्त्रालयअन्तर्गत १ लाखदेखि ५ लाखसम्मका योजनामा रकम विनियोजन गरेको भेटिएको उनले बताए ।




