Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अझै ५३ प्रतिशत जनसंख्या बीमा पहुँच बाहिर

२०८२ जेष्ठ २५ गते

बैंकिङ खबर/बीमाको दायरा ३.८३ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको विवरण अनुुसार अहिले बीमाको दायरा ४७.३९ प्रतिशत जनसख्यामा पुगेको छ ।

समीक्षा अवधिमा म्यादी, लघुम्यादी र बैदेशिक रोजगार जीवन बीमासहित बीमाको दायरा ४७.३९ प्रतिशत जनसंख्थामा पुगेको हो ।

बीमा आम नागरिकहरुको लागि अपरिहार्य बनेको छ । सरकार र नियमनकारी निकाय बीमा प्राधिकरणले पनि बीमाको दायरा विस्तारमा जनचेतना फैलाउदै आएको छ । झिनो प्रतिशतले बीमाको दायरा बढे पनि प्राधिकरणको तथ्याङ्कअनुसार अझैपनि आधा भन्दा बढी जनसंख्या बीमाको दायरामा आएको छैन। अर्थात् आधा भन्दा बढी जनसंख्याले बीमा गरेका छैनन् ।

बीमा प्राधिकरणको तथ्यांकले अहिले पनि ५३ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर रहेको देखाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहित प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बको दोस्रो संस्करणमा यस्तो उल्लेख छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको २०७८ सालको जनगणना प्रतिवेदनमा प्रकाशित जनसंख्याको वृद्धि प्रतिशतका आधारमा वैशाख मसान्तसम्मको जनसंख्या प्रक्षेपण गरेर प्राधिकरणले पहुँचको गणाना गरेको हो ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेका कुल ३७ वटा बीमा कम्पनीहरुमा कुल १२ हजार १६३ जना कर्मचारीहरु बीमा कम्पनीमा कार्यरत रही आम नागरिकहरुलाई बीमा सेवा प्रदान गरीरहेका छन् । जसमा जीवन बीमा कम्पनीमा ६ हजार ८७ जना र निर्जीवन बीमा कम्पनीमा ६ हजार ७५ जना कर्मचारी कार्यरत रहेका छन् ।