Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘वाणिज्य बैंकको पुँजी ५ अर्बमा झारौं’

२०८२ जेष्ठ १९ गते

बैंकिङ खबर/नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले वाणिज्य बैंकको पुँजी घटाउनुपर्ने धारणा राखेका छन् । सामेबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले छलफलमा प्रश्न गर्दै भने, ‘विधेयक जनताको फाइदाका लागि छ कि व्यक्तिको लागि ? ८ अर्ब लगानी गरेपछि वाणिज्य बैंक खोल्न पाउने व्यवस्था सिण्डिकेट हो, ८ अर्बको सट्टा ५ गर्ने कि ६ गर्ने ? तर बैंकको चुक्ता पुँजी घटाउनुपर्छ,’ उनले भने ।

सांसद तामाङका अनुसार तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल गभर्नर हुँदा सिण्डिकेट भएको धारणा राखे । ‘बैंकको पुँजी ८ अर्ब किन चाहियो ? ५ अर्बले चलाउन सकिन्छ । नयाँ गभर्नरको पालोमा सिण्डिकेट हटाउनुपर्छ,’ उनले भने ।

सिण्डिकेट हटाइएन भने बैंकले जनताको सम्पत्ति लुट्ने उनले अभिव्यक्ति दिए । ‘बैंक र बीमामा तीन पुस्ते नागरिकता भएको देखिँदैन, यो गलत हो,’ उनले भने ।

यस्तै, उनले विकास बैंकलाई प्रतितपत्र (एलसी) र बैंक ग्यारेन्टी खोल्न दिनुपर्ने धारणा राखे । ‘विकास बैंकसँग पनि धेरै पैसा छ । धान्न सक्नेलाई दिनुपर्छ । उसले पनि प्रतिस्पर्धामा आउन पाउनुपर्छ,’ उनले भने ।

उनले सरकारले नीतिगत रुपमा जनताको लागि फाइदा र देश र जनतालाई बचाउने काम गर्नुपर्ने बताए । ‘बैंकले कोरोनाको बेला पनि ब्याज छुट दिएन । भूकम्पको बेला पनि दिएन । हामीले पनि घरभाडा दिँदा एक महिनाको छुट दिएको छौं । तर, बैंकले छुट दिएन, ७० प्रतिशत मानिसको बैंकले हातखुट्टा बाँधेर राखेको छ, घरजग्गा बैंकमा धितोका रुपमा छ,’ उनले भने ।