
बैंकिङ खबर/नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले बैंक तथा वित्तीय क्षेत्र सुधारका उद्देश्यसहित ल्याउने तयारी भइरहेको विधेयकमा व्यापकताको अनुभुति नभएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद थापाले बैंकमा खरबौं रकम थुप्रने तर लगानी नहुने परिस्थिति कानूनको अभावका कारण भएको हो भने त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
विभिन्न विज्ञहरुले मस्यौदामा उल्लेख भएअनुरुप नै विधेयक बनेमा अर्थतन्त्रमा उथलपुथलको स्थिति आउने भन्ने विषयमा नकारात्मक उथलपुथल नहुनेगरी उथलपुथल गरिनुपर्ने सांसद थापाको भनाई थियो । उनले बैंकमा तरलता धेरै भएको र लगानी नभइरहेको समयमा उपयुक्त कानूनी प्रवन्ध गर्नुपर्नेमा जोड दिए । उनले बैंक सञ्चालकहरु स्वतन्त्र हुनुपर्छ भन्ने विषयमा भने विज्ञहरुले प्रष्ट पारिदिनुपर्ने बताए ।


