
बैंकिङ खबर/ वरिष्ठ अर्थशास्त्री एवं राजनीतिज्ञ हुन् डा.स्वर्णिम वाग्ले । नेपालको आर्थिक नीति, योजना निर्माण र विकास रणनीतिमा उनको योगदान महत्वपूर्ण रहेको छ । उनी राजनीतिज्ञ, नीति विश्लेषक र विश्वस्तरीय अर्थशास्त्रीको रूपमा समेत परिचित छन् ।
वि.स. २०३१ मा गोरखामा जन्मिएका डा. वाग्ले अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री हुन् । विगत लामो समय नेपालभित्र र बाहिर सक्रिय डा.वाग्ले वि.स. २०७७ देखि २०७९ सम्म राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए ।
त्यसअघि तीन वर्ष राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एवं सदस्य रहेका वाग्लेले वि.स. २०७२ को महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आँकलन गर्ने र उल्लेखनीय अन्तर्राष्ट्रिय सहयोग जुटाउने कार्यमा विशेष भूमिका खेले ।
नेपाल फर्कनुअघि विश्व बैंक र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्री रहिसकेका वाग्ले काठमाडौं विश्वविद्यालयको सेनेट सदस्य एवं सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइ.आइ.डी.एस.) का अध्यक्षका रुपमा समेत काम गरे ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा वि.स. २०२७ देखिनै उनको परिवारको संलग्नता थियो । वि.स. २०४२ को सत्याग्रहदेखि राजनीतिक रुपमा दीक्षित र २०४६ को जनआन्दोलनमा सहभागी भएका वाग्ले नेपाली कांग्रेसको महासमिति सदस्य समेत भए ।
वि.स. २०७९ र २०७४ को आम निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति र योजना, कार्यक्रम र वैचारिक विमर्शहरुमा उनको नेतृत्वदायी भूमिका रहँदै आयो ।
लण्डन स्कुल अफ इकनमिक्स (बेलायत)बाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पी.एच.डी.) गरेका वाग्लेले उच्च माध्यमिक तह सम्मको अध्ययन बूढानीलकण्ठ स्कूलमा गरेका थिए । वि.स. २०४६ को एस.एल.सी. परीक्षामा उनी नेपालभर दोस्रो (बोर्ड सेकन्ड) भए ।
नेपालका ६५ भन्दा बढी जिल्ला भ्रमण गर्दै बहुलवादी लोकतान्त्रिक पद्धतिभित्रै सुशासन र आर्थिक उन्नतिको राष्ट्रिय अभियानमा उनी लागेका थिए ।
विभिन्न अन्तर्राष्ट्रिय मन्चमा नेपाली प्रतिनिधिमण्डलको मन्त्रीस्तरीय नेतृत्व लगायत दर्जनौं सम्मेलनहरुमा प्रमुख वक्ता वा विज्ञका रुपमा सहभागी हुँदा विश्वका राजनेता र प्राज्ञहरुसँग फराकिलो सम्बन्ध बनाएका डा. वाग्ले आफुले आर्जेको ज्ञान, अनुभव, प्रतिष्ठा र सामाजिक पूँजी नेपाल राष्ट्रकै सम्पत्तिका रुपमा अर्पण र उपयोग गर्ने प्रण गर्दै राजनीतिमा होमिए ।
लामो समयदेखि नेपाली कांग्रेसमा आवद्द रहेका वाग्ले निर्वाचनमा उम्मेदवार बन्न टिकट नपाएपछि पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बने र निर्वाचन पनि जिते ।
तर पछिल्लो समय उनी गुननाम जस्तै छन् । एक ख्यातिप्राप्त नाम, जुन नेपाली आर्थिक र विकास नीतिमा गहिरो प्रभाव छाड्न सफल डा.वाग्लेले पछिल्लो समय नेपालका सक्नेजति गर्न सकिरहेका छैनन् । उसो त उनी आवद्ध पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेकै कारण अब के हुने हो भन्ने स्थितिमा पुगेको छ ।
उदयको छोटो समयमै संसदको चौथो ठूलो दल बनेको रास्वपामा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएसँगै अहिले अन्य नेता कार्यकर्तामा असन्तुष्टि र नैरश्यता छाएको छ । गत कात्तिक २ गते पक्राउ परेदेखि नै लामिछाने सक्रिय राजनीतिबाट टाढा रहेपछि त्यसको प्रत्यक्ष असर रास्वपामा परेको छ ।
पछिल्लो समय लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राख्न आदेश दिएसँगै कारागारमा छन् ।
पार्टीकै भविष्य के हुने भन्ने स्थितिमा पुगेपछि डा.वाग्ले पनि अब कता हो भन्ने स्थितिमा छन् । देशको राजनीति र नेताका कारण जनतामा नैरासैता छाइरहेको बेला उनमा पहिलाका जस्तो चाम छैन । डा.वाग्ले एक बहुआयामिक व्यक्तित्व हुन् । उनी अर्थशास्त्रका ज्ञाता, नीति निर्माणका अनुभवी र एक कुशल राजनीतिज्ञ हुन् । यसर्थ, नेपालको आर्थिक र नीतिगत यात्रामा उनको भूमिका अझ आवश्यक देखिन्छ ।




