
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले शिष्टाचार भेट गरी बधाई तथा शुभकामना दिएका छन्। संघका पदाधिकारीहरू गभर्नर पौडेलको कार्यकालमा बैंकिङ्ग क्षेत्र अझ सुदृढ, पारदर्शी र जनमैत्री बन्ने विश्वास व्यक्त गर्दै राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताएका छन्।
उनीहरूले हाल बैंक तथा वित्तीय क्षेत्रमा देखिएका नीतिगत अन्योल, नियामकीय स्पष्टता र प्रतिस्पर्धात्मक सन्तुलनको आवश्यकता औँल्याउँदै समन्वयात्मक ढाँचामा काम गर्नुपर्ने आवश्यकता पनि राखेका थिए। गभर्नर डा. पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी उत्तरदायी, नवीन र समावेशी वित्तीय प्रणाली निर्माणमा सरोकारवालाबीच सहकार्य अपरिहार्य हुने बताए।
उनले विद्यमान चुनौतीहरू-जस्तै ऋण प्रवाहमा असमानता, वित्तीय पहुँचको सीमा र नियामकीय संरचनामा सुधार आवश्यक रहेको उल्लेख गरे। गभर्नरले राष्ट्र बैंक सुधार, वित्तीय समावेशिता, जोखिम व्यवस्थापन र प्रविधिको प्रयोगमार्फत समावेशी वित्तीय प्रणालीतर्फ उन्मुख हुने प्रतिबद्धता समेत जनाएका छन्। साथै, बैंकर्स संघसँग सहकार्यमा रहँदै दीर्घकालीन आर्थिक स्थायित्व र वित्तीय अनुशासनमा योगदान गर्ने रणनीति अघि बढाइने बताएका छन्।




