Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नवनियुक्त गभर्नरले भेटे अर्थमन्त्रीलाई, के-के भयो कुराकानी ?

२०८२ जेष्ठ ७ गते

बैंकिङ खबर/ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्व पौडेलबीच भेटवार्ता भएको छ। बुधबार बिहान अर्थ मन्त्रालयमा पुगेर गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेट गरेका हुन् ।

सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने बताउँदै गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखिएका समस्याहरू समाधानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिता अभिवृद्धिका लागि राष्ट्र बैंकको नियामकीय र सुपरीवेक्षकीय क्षमता वृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

भेटका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिएका थिए।