२०८२ जेष्ठ २ गते

सर्वोच्च अदालतले विश्व पौडेललाई गभर्नर हुन बाटो खोल्दियो

 

बैंकिङ खबर/ सर्वोच्च अदालतले डा.विश्व पौडेललाई गभर्नर बन्ने बाटो खोलिदिएको छ । सर्वोच्चले पौडेलविरुद्ध दायर भएको रिट दरपिठ गरिदिएको हो । पौडेललाई नेपाल राष्ट्र बैंकको ऐनविपरीत गभर्नरमा नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले गत मंगलबार रिट पेश गरेका थिए ।

रिटलाई सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेका हुन् । समाचारमा आएको भरमा रिट दायर गरिएको भन्दै सर्वोच्चले पौडेलविरुद्धको रिट दरपिठ गरेको बुझिएको छ । राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले पौडेललाई गभर्नर बनाउन नहुने भन्दै रिट पेश गरिएको थियो ।

योसँगै पौडेल गभर्नर बन्ने बाटो खुलेको छ । गभर्नर बन्ने पक्का भएसँगै २८ वैशाखमा सिफारिस समिति सदस्य पदबाट डा.पौडेलले राजीनामा दिएका छन् । हालै सरकारले उनको ठाउँमा सिफारिस समितिमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरेको छ । समितिको संयोजकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पाण्डे सदस्य रहेको सिफारिस समिति गठन रहेको छ । सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ ।

को हुन् डा.विश्व पौडेल ?

डा.पौडेललाई देउवाका विश्वास पात्रका रुपमा लिने गरिन्छ । यसअघि देउवा प्रधानमन्त्री हुँदा उनी २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । पौडेलको देउवा पत्नी आरजु राणासँग व्यक्तिगत रूपमा समेत राम्रो सम्बन्ध भएको बताइन्छ ।

ललितपुरमा परराष्ट्रमन्त्री आरजू राणाको एउटा महंगो निजी स्कुल युलेन्स स्कूल सञ्चालनमा छ । आरजूको उक्त युलेन्स स्कुलमा डा. पौडेलले अगस्ट २०१९ देखि जुलाई २०२१ सम्म बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । डा. पौडेल विभिन्न विषयमा सञ्चारमाध्यममा गहन अध्ययन गरेर अर्थतन्त्रका विविध विषयमा लेख र जर्नल प्रकशित गर्दै आएका छन्। पौडेल नेपालको आर्थिक इतिहास बारे जानकार मानिन्छन्।

डा. पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए। उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन्। डा. पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता हुन्।

उनले लेखेका अर्थशास्त्र तथा इतिहाससम्बन्धी लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। उनी २०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टरको रूपमा काम गरेका थिए। त्यसपछि विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरिसकेका छन्।