२०८२ बैशाख ३० गते

‘गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्‍यो’

बैंकिङ खबर/ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले भन्नेकुरा गभर्नर नियुक्तिसम्म आइपुग्दा प्रष्ट भएको जिकिर गरे।

‘गभर्नरको विषयलाई राजनीतिकरण गरिएको छ, राजनीतिक दलहरुले देश सञ्चालन गरिरहेको छ या अरु कसैले भन्नेकुरा अहिलेसम्म आउँदा झन प्रष्ट हुँदै गएको छ, पुनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित भइसकेपछि शुभकामना तथा बधाई दिने क्रममा हाम्रो दल नेकपा माओवादी केन्द्रको तर्फबाट शुभकामना दिँदै प्रधानमन्त्रीज्यू के देश जननिर्वाचित भएर पार्टीमार्फत र राजनीतिज्ञले देश चलाउनुपर्ने होइन? तपाईको अगाडि चुनौति सेवनको अध्यक्ष कसलाई नियुक्ति गर्नुहुन्छ? त्यतिमात्र हैन राष्ट्र बैंकको गभर्नरसम्मको नियुक्तिमा परीक्षा हुनेछ। देश कसले चलाएको छ? राजनीतिज्ञले या विचौलियाले? आज सबै तथ्य र व्यवहारले त्यो कुरा पुष्टि हुन्छ।’

उनले नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटि गभर्नरहरुबाट नै बनाउने प्रचलन भएपनि त्यसो नहुँदा मौद्रिक नीतिमा विज्ञ वा विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने विश्वव्यापी चलन भएको बताए।

‘कि चाहिँ गभर्नर राष्ट्र बैंकको डेपुटी गभर्नरहरुबाट बनाउने चलन छ कि त्यस्तै प्रकारको मौद्रिक नीतिमा विज्ञ र विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने चलन परम्परा हो,’ पुनले भने, ‘तर, यहाँ पार्टीको कार्यकर्ता अझ अरु कुनै स्वार्थ समूहले रुचाएको उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएको छ।’