प्यूठान मर्कावाङका किसान दलबहादुर केसीले तीन वर्षअघि व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरे । त्यतिबेला उनलाई एउटै चिन्ताले सताइरहन्थ्यो कि बाख्रा पालनमा गरेको लगानी कतै डुब्ने पो हो कि । किनभने उनले ऋणपान गरेर बाख्रा व्यवसाय सुरु गरेका थिए । बाख्रालाई केही रोग लागिहाले कसरी उपचार गर्ने भन्ने त्रासमा उनले धेरै दिन पनि गुजारे । तर उनको यस्तो हैरानी त्यतिबेला साम्य भयो, जतिबेला उनले बाख्राहरुको बीमा गराए । आजभोलि उनलाई पहिलोको जस्तो बाख्रा मरेर लगानी डुब्ने चिन्ताले सताउन छाडेको छ । हाल उनले एक सय १० वटा बाख्रा पालेका छन् । ती सबै बाख्राको उनले बीमा गराईसकेका छन् । ‘कुनै रोगका कारण बाख्रा मरिहाल्यो भने बीमामार्फत क्षतिपूर्ति पाइन्छ’, उनी भन्छन्, ‘अब म ढुक्क छु, आजभोलि म यो व्यवसाय अझै धेरै कसरी विस्तार गर्ने भन्ने विषयमै सोचमग्न छु ।’ उनले अहिले प्युठान जिल्लाकै नमूना कृषकको रुपमा परिचय बनाएका छन् ।
बांगेसाल ७ ददेरीकी कल्पना जीसी पनि आफ्नै गाउँमा केही गर्ने उद्देश्य राखेर बाख्रा पालनमा लागिन् । सुरुमा उनलाई पशु बीमासम्बन्धी कुरा थाहा थिएन । त्यसैले पनि कुनै पनि बाख्राको बीमा गराइनन् । सुरुमा केही बाख्रा मरेर क्षति पनि भयो । त्यसपछि आफ्नो सारा लगानी र मेहनत खेर जाने चिन्ताले सताउन थाल्यो । तर पछि उनले पशुबीमा कार्यक्रमबारे थाहा पाइन र आफ्नो फार्ममा भएका सबै बाख्राको बीमा गराइहालिन् । ‘पशुबीमाबारे थाहा पाएपछि मैले आफ्नो फार्ममा भएका ७० मध्ये ४० वटा बाख्राको बीमा गराइसकेकी छु’, उनले भनिन्, ‘अरु बाख्राको उमेर पुगेपछि बीमा गराइहाल्छु ।’ त्यतिमात्रै हो र, उनले बीमा गरिसकेपछि दुई वटा बाख्राको क्षतिपूर्तिबापतको रकम पनि बुझिसकिन् ।
दलबहादुर र कल्पनाजस्तै जिल्लाका थुप्रै व्यावसायिक किसान पशुबिमा कार्यक्रमबाट लाभान्वित भएका छन् । व्यावसायिक पशुपालन गर्ने किसानलाई हुनसक्ने सम्भावित जोखिमबाट बचाउन दुई वर्ष अघिदेखि जिल्लामा पशुबिमा कार्यक्रम सुरु भएको जिल्ला पशु सेवा कार्यालय प्युठानले जनाएको छ । ‘किसानहरूको सहभागिता बढ्दो छ’, वरिष्ठ पशु विकास अधिकृत डा. शरणकुमार पाण्डे भन्छन्, ‘सुरुमा थाहा नभएर किसान सहभागी भएनन् । आजभोलि उत्साहजनक सहभागिता देखिएको छ ।’ बीमा गरेपछि हुने फाइदाबारे गाउँगाउँमा चेतना फैलिएपछि किसानको सहभागिता बढेको उनले जानकारी दिए ।
कुन अवस्थामा पशुबीमाबापतको रकम पाइन्छ ?
पशुहरूको मृत्यु, पूर्ण स्थायी रूपमा अशक्त, आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो, भूस्खलन, आँधीबेहरी, हिउँ, आकस्मिक दुर्घटनाजस्ता समस्याले किसानलाई पर्ने जोखिमबाट बचाउन बीमाले सहयोग गर्ने उनले बताए । ‘सुरुमा बीमा गराउँदा किसानले प्रिमियमबापत २५ प्रतिशत रकम बुझाउनुपर्छ’, पाण्डेले भने, ‘बीमा गरिएको पशुको मृत्यु भएमा कुल रकमको ९० र पूर्ण रूपमा स्थायी अशक्त भएमा ५० प्रतिशत रकम क्षतिपूर्ति भुक्तानी हुन्छ ।’ सरकारले बिमा गर्दा प्रिमियमको ७५ प्रतिशत रकम अनुदानस्वरूप दिने उनको भनाइ छ ।
बीमा गराउने गाईभैंसीको उमेर दुई वर्ष, गोरु र राँगा तीनदेखि सात वर्ष, भेडा, बाख्रा र बंगुर तीन महिनादेखि बिक्रीका लागि तयार नहुन्जेल र बाच्छी तथा पाडीको उमेर ६ महिनादेखि दुई वर्षसम्मको हुनुपर्ने उनले बताए । उनका अनुसार जिल्लामा नेसनल इन्सुरेन्स कम्पनीसँगको सहकार्यमा बीमा भइरहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म २२ गुणा बढी किसानले विभिन्न पशुको बीमा गराइसकेको पशु विकास अधिकृत एवं सूचना अधिकारी खिमानन्द खनालले बताए । ‘गत वर्ष ५५ वटा पशुको बीमा भएको थियो’, उनले भने, ‘चालू आवको पहिलो चौमासिकसम्म एक हजार दुई सय ६२ वटाको भइसक्यो ।’ यस वर्ष दुई हजार पाँच सय पशुको बीमा गर्ने लक्ष्य रहेको उनले बताए ।