२०८२ बैशाख २८ गते

चालु खाता र शोधनान्तर स्थिति बचतमा

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालको चालु खाता तथा शोधनान्तर स्थिति दुबै बचतमै देखिएको छ। आर्थिक स्थायित्वतर्फ सकारात्मक संकेत दिँदै चालु खाता २खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि हो। अघिल्लो वर्ष चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा हेर्दा समीक्षा अवधिमा चालु खाता १ अर्ब ५५ करोड डलरले बचतमा रहेको देखिएको छ, जबकि अघिल्लो वर्ष यो बचत १ अर्ब ३५ करोड डलर थियो।यस अवधिमा पूँजीगत पक्षमा पनि सुधार देखिएको छ। खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ७८ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।

त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि बढेर ८ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यो लगानी रु. ६ अर्ब ४९ करोडमा सीमित थियो।

शोधनान्तर स्थिति भने केही घटेर पनि अझै बचतमै देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ, जबकि अघिल्लो वर्ष यो ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो। अमेरिकी डलरमा यो बचत अहिले २ अर्ब ५५ करोड पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ७५ करोड थियो।