२०८२ बैशाख २८ गते

वाणिज्य बैंकहरूको नाफा ५.०९ प्रतिशतले घट्यो

बैंकिङ खबर/ चैतमा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । फागुन महिनासम्म वाणिज्य बैंकहरूको खुद नाफा ४३ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा चैतमा आइपुग्दा यस्तो नाफा ५.०९ प्रतिशतले घटेर ४१ अर्ब २८ करोडमा आइपुगेको हो।

चैत महिनामा मात्रै १३ बैंकको नाफा घटेको छ। यी बैंकहरूको नाफा एक महिनाकै अवधिमा अधिकतम ७० प्रतिशतसम्मले घटेको छ। पछिल्लो एक महिनामै हिमालयन बैंकको नाफा ७० प्रतिशतले घटेको हो। फागुन मसान्तसम्म अर्बको क्लबमा रहेको हिमालयन बैंक चैतमा करोडमा सीमित देखिएको हो।

फागुन मसान्तसम्म यो बैंकको नाफा १ अर्ब ६६ करोड रुपैयाँ थियो। चैतमा भने घटेर नाफा ५० करोडमा आइपुगेको हो। यो भनेको एक महिनामा बैंकको नाफा १ अर्ब १६ करोडले घटेको हो।

यो बैंकको खराबकर्जा पनि वाणिज्य बैंकहरू मध्येकै धेरै छ। बैंकको चैतमहिनामा खराबकर्जा ह्वात्तै बढेर वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै हुँदा पनि यसले बैंकको वासलातमा असर गरेको देखिन्छ।

चैत मसान्तसम्म बैंकको खराबकर्जा ७.६८ प्रतिशतमा पुगेको छ। यस्तै चैतमा एनआइसी एसिया बैंकको नाफा पनि ६६ करोडले घटेको छ। फागुन महिनमा बैंकले ८१ करोड नाफा गरेको थियो भने चैतमा उक्त नाफा घटेर १५ करोडमा झरकेको हो। यो भनेको एक महिनामा ८१ प्रतिशतको गिरावट हो।

योबाहेक नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र प्राइम बैंकको नाफा घटेका छन्।

चैत मसान्तसम्म नेपाल बैंकको नाफा २ अर्ब ७८ करोड हुँदा राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब २० करोड, नेपाल एसबीआई बैंकको १ अर्ब २० करोड, माछापुच्छ्रे बैंकको १ अर्ब १० करोड रहेको छ।

यस्तै कुमारी बैंकको नाफा २८ करोड रुपैयाँमा आइपुग्दा लक्ष्मी सनराइज बैंकको पनि घटेर १ अर्ब ६५ करोड रुपैयाँमा आइपुगेको हो।

यस्तै सिद्धार्थ बैंकको नाफा १ अर्ब १६ करोडमा संकुचित हुँदा सिटिजन बैंकको ९६ करोड रुपैयाँ सिमित हुन पुगेको छ।

यता अन्य तीन बैंकको पनि नाफा फागुनको तुलनामा घटेकै छ। जसमा प्राइम बैंकको २ अर्ब २२ करोड, एनएमबी बैंकको २ अर्ब ३७ करोड र प्रभु बैंकको नाफा १ अर्ब ८७ करोड रहेको छ।

१३ वटै वाणिज्य बैंकको नाफा फागुनको तुलनामा चैतमा घटेको छ। योबाहेक चैतमा नाफा बढ्नेमा भने ५ वटा मात्रै बैंक देखिएका छन्। यो अवधिमा नबिल, एनआईएमबी, एभरेस्ट, कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकको नाफामा भने सुधार देखिएको छ।

चैत महिनामा नबिल बैंकको नाफा ५ अर्ब ५ करोड रुपैयाँ पुग्दा एनआईएमबी (नेपाल इन्भेस्टमेन्ट मेगा) बैंकको ४ अर्ब ५४ करोड, एभरेस्ट बैंकको ३ अर्ब ४५ करोड, कृषि विकास बैंकको १ अर्ब ८४ करोड र ग्लोबल आईएमई बैंकको ४ अर्ब ५३ करोड रुपैयाँ नाफा पुगेको छ।

फागुनको तुलनामा चैत मसान्तसम्म १३ वाणिज्य बैंकको नाफा घट्दा ५ वाणिज्य बैंकले नाफा बढाएका थिए। बाँकी रहेका २ वटा बैंकको नाफामा भने चैत महिनमा कुनै फेरबदल देखिएन। नाफा घटबढ नहुनेमा भने स्ट्यान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंक रहेका छन्।

यी दुवै बैंकको नाफा क्रमशः २ अर्ब १७ करोड र १ अर्ब ६८ करोड रुपैयाँ छ।