२०८२ बैशाख २७ गते

गभर्नर नियुक्तिमा अर्बौंको चलखेल हुनु देशकै लागि दुर्भाग्यः डा.स्वर्णिम वाग्ले

बैंकिङ खबर/ राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले दुई ठूला दलबीच कुन पक्षका बिचौलियामार्फत गभर्नर नियुक्त गराउने भनेर होडबाजी चलेको आरोप लगाएका छन् ।

पूर्वी नवलपरासीस्थित रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा शनिबार सञ्चारकर्मीसँग बोल्दै उनले गभर्नर नियुक्तिमा अर्बौंको चलखेल सुरु भएको र यो देशका लागि अत्यन्त दुर्भाग्य हुने बताए ।

उनले भने, ’नियमअनुसार हुने हो भने राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाखर भट्ट भइसक्थे । उनी अत्यन्त क्षमतावान् र काबिल अर्थशास्त्री हुन् । उनलाई फालेर अर्थतन्त्रमा ज्ञान नै नभएकालाई गभर्नर नियुक्त गर्ने भन्ने कुरा आइसक्यो ।’

सारा वित्तीय अनुशासन ध्वस्त पार्न कांग्रेस र एमाले कम्मर कसेर लागेको हुँदा बिचौलियाको इसारामा अक्षम गभर्नर ल्याउन उद्यत रहेको वाग्लेले आरोप लगाए ।