
बैंकिङ खबर/ आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बैंकरहरुको मनोमानीले बैंकिङ क्षेत्र नै अस्तव्यस्त भएको बताएका छन् । सर्वसाधारणले ऋण नपाउने तर बैंककै प्रमोटर सेयरधनीले बैंकिंङ क्षेत्रमा मनपरी गरिरहँदा दुई तिहाईको शक्तिशाली सरकार के हेरेर बसेको भन्दै उनले प्रश्न गरे ।
‘सम्मानिय सभामुख महोदय, बैंकरहरूको मनोमानीले आज बैंकहरु अस्तव्यस्त भएका छन् । एकातिर आम जनताले कर्जा पाइरहेको छैन र अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ,’ साहले भने, ‘तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको छ ।’
जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसाबाट बैंकलाई ब्याज दिनुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
यी तथ्यांकहरू उल्लेख गर्दै उनले सरकारलाई प्रश्न गरे, ‘यही हो तपाईंहरूको दुई तिहाइको सुशासन ? दुई महिना अघि नै नियुक्त हुनुपर्ने गभर्नर अहिलेसम्म नियुक्त भएको छैन् । दुनियालाई थाहा छ तपाईहरुको द्वन्द्वको कारण गभर्नर नियुक्त नभएको कुरा छ्यापछ्प्ती छ ।’
गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै गभर्नर नियुक्त गर्नुपर्ने भएपनि दुई तिहाईको शक्तिशाली सरकारले अहिले सम्ममा गभर्नर नियुक्त गर्न नसकेकोमा उनले प्रश्न गरे। सत्तारुढ पार्टीहरूको आन्तरिक द्वन्द्वका कारण गर्भनर नियुक्त हुन नसकेको भनेर टिप्पणी भइराखेको पनि उनले स्मरण गराए । यस्तो परिस्थितिले देशको अर्थतन्त्रलाई असर गर्ने उनले बताए ।
अर्थतन्त्र सुधार गर्नका लागि बैंकिङ अवस्थामा समेत सुधार आउन आवश्यक रहेको उनले बताए । बैंकरहरूले विदेशमा पैसा लाने गरेको पनि उनले बताए ।
बैंकिङ पुजीँ झण्डै ८० खर्ब भन्दा माथि पुगेको बताउदै उनले भने, ‘जसको प्रमोटर सेयर बैंकर हो । त्यसको चार खर्ब वरिपरी त्यसको लगानी छ । तर होल कर्जाको झण्डै ७० प्रतिशत ती प्रमोटरहरुले चलाईरहेको रहेको स्थिति छ । भनेपछि जम्मा चार खर्ब लगानी गर्ने र ४० खर्बभन्दा बढी त्यो जनताको पैसा दोहन गर्ने यो भन्दा अत्याचार के हुन्छ ?’
जनताले बैंककमा बचत गर्न सक्ने तर, ऋण लिँदा अनेक झण्झट बेहोर्नुपर्ने अवस्था रहेको उनले बताए । ब्याज र सेवा शुल्कका नाममा बैंकले आफूखुसी निर्णय लिने गरेको समेत उनले बताए । एउटा बैंकको वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्दा झण्डै १२ रुपैया लाग्ने गरेको भन्दै उनले यस्तो कार्य बन्द गरिनुपर्ने माग समेत गरेका छन् ।
