२०८२ बैशाख २३ गते

‘घरजग्गा र निर्माण क्षेत्रमा देखिएको समस्याका कारण बैंकहरुमा खराब कर्जा वृद्धि’

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले घरजग्गा र निर्माण क्षेत्रमा देखिएको समस्याकै कारण बैंकहरुको खराब कर्जा बढेको बताएका छन् । काठमाडौं सिटिसी महलमा मिडिया इन्टरनेशनलको विजनेश स्टुडियोको उद्घाटन क्रममा उनले घरजग्गा क्षेत्र विगत ३ वर्षदेखि समस्यामा परेको बताए । यसले छट, सिमेन्ट लगायत कच्चा पदार्थका साथै उद्योग र बैंकिङ क्षेत्रमा सिँधै असर उनको भनाइ छ । हाल बैंकहरुको खराब कर्जा ५ प्रतिशतमाथि पुगेको उनको भनाइ छ ।

‘कुल ग्राहस्थ उत्पादनलाई हेर्ने १८ वटा क्षेत्रमध्ये केही क्षेत्रहरु विगत ६, ७ महिनासम्म पनि नकारात्मक नै थियो । अहिले अलि पोजेटिभ देखिन थालेको छ’उनले भने । उद्योग क्षेत्र पनि सुधारको अवस्थामा रहेको उनको भनाइ छ । उनले भने,‘देशको अर्थतन्त्र अगाडि बढ्न नसक्नु उद्योग र घरजग्गामा देखिएको प्रभावकै कारण हो । अहिले व्याजदर थोरै होस् या धेरै व्यवसायीको आत्मबल अगाडि बढ्न सकेको छैन । मैले १८ प्रतिशत व्याजदर हुँदा पनि लगानी बढेको देखेको छु । अहिले ८प्रतिशत भन्दा पनि कम हुँदा अर्थात् २,४ वर्षकै न्यून विन्दुमा आउँदा बजारमा ५ देखि ६ खर्ब रुपैयाँ बैंकवित्त क्षेत्रमा थुप्रिएर बसेको छ । कोही लिन जाने स्थितिनै छैन । त्यसले गर्दा आर्थिक क्षेत्र त्यति राम्रो छैन ।’

साढे १४महिना बस्तु र सेवा आयत धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको पनि नेपालले बताए । उनले थपे, ‘रेमिट्यान्स मज्जासँग आएको छ । ढुकुटी राम्रो छ, तर विदेशी सञ्चिति राम्रो हुँदा पनि अर्थतन्त्र उत्साहित हुन नसकेर ऋण प्रवाह ७ प्रतिशत मात्र छ । आर्थिक वृद्धि ६ प्रतिशत हुने स्थिति छैन ।’

यस्तै नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष विदुर धमालाले बैंकका पैसा थुप्रिएपनि व्यवसायीले लिन नसक्ने अवस्थामा रहेको बताए । व्यवसायीले बैंकमा थप्रिएको कर्जालाई लिएर प्रोजेक्ट संचालन गर्न सक्ने स्थिति नरहेको उनले बताए । उनले भने,‘अहिले २ प्रतिशतमा कर्जा पाएपनि हामी लगानी गर्न नसक्ने अवस्थामा छौं । मार्केट छैन । जनसंख्या सबै बाहिर गइरहेको छ ।’

यस्तै नेपाल निर्माण उद्योग परिषदका अध्यक्ष बलिभद्र रानाले भर्खरै सार्वजनिक खरिद नियमावली चौधौं संशोधनले व्यवसायीलाई केही राहत मिलेको बताए । अध्यक्ष रानाले सरकारले आगामी आर्थिक वर्षका लागि हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा रुग्न ठेक्काहरु फरफार गर्ने भन्ने आएको र कार्यान्वयनमा आएमा २४ सय योजनाहरु घटेर पाँच ६ सयमा झर्ने बताए । उनले भने,‘नयाँ ठेक्काहरु लाग्दा हचुवाको भरमा, नेताको भरमा होइन कि खास योजना पर्ने डिपिआर छ कि छैन, त्यहाँ आवश्यक छ कि छैन भन्नेमा ध्यान दिनुपर्छ ।’

देशैभरी योजना छनोट गर्दा नेताले छनोट गर्ने भन्दा पनि विज्ञ टोली राखेर गाउँपालिका, प्रदेश र केन्द्र सरकारलाई के–के चाहिने छन् भनेर बजेट अनुसार, माग अनुसार योजना पार्नुपर्ने रानाले बताए । यस्तै उनले निर्माण क्षेत्रमा ऐन नै बाधक रहेको पनि बताए । निर्माण व्यवसायी जसले काम गर्दैनन् उसको ठेक्का पनि तोडिने, धरौटी पनि ल्याप्स हुने र त्यो ठेक्कालाई फेरि पुनः मूल्यांकन गरेर ल्याउने ऐन रहेको उनले बताए । निर्माणमैत्री ऐन आवश्यक रहेको भन्दै रानाले नेपालको निर्माण क्षेत्रलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताए ।

यस्तै ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले सरकारले आगामी बजेटमा हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर पूर्णरूपमा हटाउनुपर्ने, पाँचतारे र उच्च श्रेणी होटलहरूमा लागू २ प्रतिशत विलासिता कर हटाउनुपर्ने, हवाई टिकटमा आउट स्टाण्डिङ ट्याक्स प्रणालीको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । एसिया क्षेत्रका देशहरुको पर्यटनलाई हेर्दा श्रीलंकाले फड्को मारेको बताए । नेपालमा पर्यटन लगायत सम्पूर्ण व्यवस्थालाई ‘रुल अफ ल’, उत्तरदायीत्व कमी भएको उनले बताए ।

आज ३० वर्षको अन्तरालमा नेपालमा ११ लाख पर्यटक मात्र भित्र्याउन सकिएको उनले बताए । उनले थपे, ‘नेपालमा हामीले पर्यटकलाई भित्र्याउन सकेका छैनौं । श्रीलंकाले २.३ मिलियन पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।’ समग्रमा पयर्टन व्यवसायीका धेरै समस्याहरु रहेको पनि उनले बताए । नेपाल एयरलाइन्सलाई कस्टुम्बर एयरलाइन्सको रुपमा विकास नगर्दासम्म चल्न नसक्ने पनि उनले बताए ।

उनले भने,‘नेपाल एयरलाइन्सका कहिले पांग्र बिग्रीएर बसेको हुन्छ । कहिले इन्जिन । जिम्मेवारी कसले लिने ?’ नेपाल एयरलाइन्सलाई रिभाइवल नगर्दासम्म पर्यटन क्षेत्रमा जति नै काम गरेपनि त्यो सम्भव नहुने उनले बताए । उनले भने,‘नेपाल एयरलाइन्सलाई विश्वासनीय बनाउन प¥यो र अर्को इन्फास्टकचर पनि ध्यान दिनुपर्यो ।’