
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको ढिलाइलाई लिएर प्रतिनिधि सभामा सांसदले सरकारमाथि खरो प्रश्न राखेका छन् । सोमबारदेखि सुरु भएको आर्थिक वर्ष २०८२/८३ को बजेटको नीति तथा कार्यक्रममाथिको छलफल बैठकमा बोल्दै सांसद रेखा यादवले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा गरिरहेको ढिलाईमा संशयसहित प्रश्न उठाउइन् ।
उनले भनिन्, ‘सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सकिरहेको छैन, किन ? नेपालको केन्द्रीय बैंकको गभर्नर नियुक्तिमा यस्तो ढिलाई आखिर किन ?’ उनले भनिन्, ‘अहिले बाहिर हल्ला चलिरहेको छ, गभर्नर नियुक्तिमा आर्थिक कारोबार भइरहेको छ । यो के भइरहेको छ सरकारले पुष्टि गर्नुपर्छ । होइन भने किन नियुक्तिमा ढिलाई गरेको ?’
नेपाल राष्ट्र बैंक एकमहिनादेखि गभर्नर विहिन छ । २०८१ चैत २३ गतेदेखि गभर्नर महाप्रसाद अधिकारी नियमित अवकासमा गएसँगै रिक्त राष्ट्र बैंकको गभर्नर सरकारले नियुक्त गर्न सकेको छैन ।