२०८२ बैशाख १९ गते

पूर्वबैंकर अनिल केशरी शाह के राजनीतिबाट ब्याक हुन लागेका हुन् ?

बैंकिङ खबर/ नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका पूर्वबैंकर अनिल केशरी शाह यतिबेला राजनीतिबाट विरक्त बनेका छन् । दुई वर्षअघि रास्वपा र आफ्नो सोंच मिलेको भन्दै राजनीतिमा प्रवेश गरेका उनी रास्वपाको भित्री किचलोपना र राजनीतिक कारण विरत्तिएका हुन् ।

पार्टी प्रवेश गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘बैंकिङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो । बहसपछि मलाई लाग्यो, उहाँहरूको सोंच र मेरो सोच ठ्याक्कै मिल्यो ।’

यसपछि आफू रास्वपा प्रवेश गर्न तयार भएको उनको भनाइ थियो । उनले थपेका थिए, ‘सबै क्षेत्रमा नेतृत्वको विकास गराउने मेरो सीप यहाँ प्रयोग गर्न सक्छु भन्ने लागेको भएर आज यहाँ आएको छु । प्रवेश भनेको फिनिसिङ लाइन होइन, सुरुवात मात्र हो ।’ शाहले सबैलाई रास्वपा प्रवेशका लागि आह्वान समेत गरेका थिए । रास्वपा प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो । तर उनै शाह अहिले राजनीतिबाटै विरक्त हुन पुगेका छन् । उनले पार्टी छोडेको घोषणा नगरे पनि पार्टीमा निस्कृय रहेको र आफू कुनै जिम्मेवारीमा नबस्ने जानकारी पार्टी नेतृत्वलाई दिइसकेको स्रोतले बताएको छ ।

‘बैंक चलाउनु र पार्टी राजनीति गर्नु फरक रहेछ । मैले सोंचे जस्तो पार्टी नहुने भएपछि बसिरहनु ठीक छैन’ उनले आफू निकटहरुलाई भन्ने गरेका छन् । पछिल्लो समय उनी पार्टीको कार्यक्रममा भन्दा पनि बैंकवित्तीय संस्थाकै प्रशिक्षण कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

को हुन् अनिल केशरी ?

अनिल केशरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्यस्वरी शाहका नाति हुन् । उनी डा. नारायण केसरी शाह र नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहका जेठा छोरा हुन् । शाहको विवाह नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेर राणाकी नातिनी रति राज्यलक्ष्मीसँग भयो। कुटनीतिक परिवारको सदस्य भएकाले अनिलको शिक्षादीक्षा बंगलादेश, अमेरिका, भारतमा भयो । वासिङ्टन युनिभर्सिटीबाट बीबीए र दिल्ली युनिभर्सिटीबाट एमबीए गरे ।

सन् १९७१ अगष्ट १ मा काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा जन्मिएका शाहले तत्कालीन ग्रिनलेज अहिलेको स्ट्याण्डर्ड चार्टर्डमा सन् १९९१ देखि करिअर शुरु गरे । र, १३ वर्ष उनी ग्रीनलेज बैंकमा काम गरे । उनी त्यहाँको ‘सेकेण्डम्यान’ सम्म बने । त्यसपछि उनी नविल बैंकमा सीइओ बनेर आए । पछि मेगा बैंक खुल्ने भएपछि संस्थापक सीइओकारुपमा दुई कार्यकाल काम गरे । र, पछि फर्केर नविल बैंकमै एक कार्यकाल सीइओ भएर बिताएका थिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई खुलेरै समर्थन गरेका कारण भट्टराईले नयाँ शक्ति पार्टी खोल्दा शाह पनि उक्त पार्टीमा जाने निकै ठूलो चर्चा थियो । तर, पछि उनी गएनन् । तर पछि रास्वपामा प्रवेश गरे ।

नेता कार्यकर्तामा नैरश्यता

रास्वपामा हालै मात्र सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिइसकेकी छन् । उदयको छोटो समयमै संसदको चौथो ठूलो दल बनेको रास्वपामा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएसँगै अहिले अन्य नेता कार्यकर्तामा असन्तुष्टि र नैरश्यता छाएको छ । गत कात्तिक २ गते पक्राउ परेदेखि नै लामिछाने सक्रिय राजनीतिबाट टाढा रहेपछि त्यसको प्रत्यक्ष असर रास्वपामा परेको छ ।

पछिल्लो समय लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राख्न आदेश दिएसँगै कारागारमा छन् ।

यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट २५ पुसमा ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए भने काठमाडौंका स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । चितवनमा २४ माघमा जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी मागेको थियो । रास्वपा र सभापति लामिछानेलक्षित गरी पछिल्लो समय सामाजिक सञ्जालमा स्टाटस लेख्दै आएका मुकुल ढकालले रास्वपा रविको क्लब भएको दाबी गर्दै आएका छन् ।

पुराना दलहरुले केही गर्न सकेन भन्ने रास्वपाको धारणा र रविप्रति आम सर्वसाधारणको रुझानकै कारण ७ असार २०७९ घोषणा भएको रास्वपाले अप्रत्यासित मत पायो । पार्टी गठन भएको ५ महिनाभित्रै ४ मंसिर २०७९ को आम चुनावमा रास्वपा चौथो ठूलो शक्ति बन्यो ।

एमाले भर्सेस पाँचदलीय गठबन्धनबीच भएको चुनावमा रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत (१०.८० प्रतिशत) मत पाएको थियो । यो मत झण्डै माओवादी बराबर हो । माओवादीले ११ लाख ७५ हजार ६८४ मत मात्र पाएको थियो । प्रत्यक्षतर्फ ७ जनाले जित्दा रास्वपासँग प्रतिनिधि सभामा २१ जना सांसद छन् ।

यसरी उदाएको केही महिनामै संसदको चौथो ठूलो शक्ति बनेको रास्वपा सभापति लामिछानेले खेपिरहेको सहकारी प्रकरणको मुद्दाले उल्झनमा परेको छ । भने अनिल केशरी जस्ता पार्टीमा केही गर्छु भनेर लागेका विज्ञहरुमा भने नैरश्यता छाएको छ ।