२०८२ बैशाख १५ गते

देश बर्बाद भयो भन्ने भाष्य गलत, प्रत्येक नेपाली मालिक बन्न पाएको छः पूर्वराष्ट्रपति यादव

बैंकिङ खबर/नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले देश बर्बाद भयो भन्ने भाष्य बनाइएको भन्दै त्यो गलत रहेको बताएका छन्। उनले आज प्रत्येक नेपाली मालिक भएको बताउँदै सार्वभौमसत्ता सम्पन्न नेपाली संसारमा शिर उठाएको जिकिर गरे।

बीपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालद्वारा सोमवार काठमाडौँमा आयोजित ‘बीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्।

उनले विभिन्न राजनीतिक परिवर्तनपछि मुलुकमा ठूलो परिवर्तन भएको बताए। मुलुक गणतन्त्र, लोकतन्त्र सङ्घीयता, समावेशी र समानुपातिक संविधानमा रहेको कुरा नै मुख्य सकारात्मक रहेको उनको भनाई थियो।

पूर्वराष्ट्रपति यादवले बीपी कोइरालाले चिन्तन गरेको समाजवाद उन्मुख संविधान रहेको बताए। उनले समाजवादउन्मुख समाजवाद बनाउने बाटोमा रहेको बताउँदै बाटो नबिराएको धारणा राखे।
यादवले राजनीतिको आफ्नै कोर्स हुने बताउँदै सोही कोर्सअनुसार मुलुकमा ठूलो परिवर्तन भएको दाबी गरे।