
बैंकिङ खबर/ अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले लोकप्रियताका लागि कतिपय वित्त नीतिहरु शासकहरुले लिने भएकाले त्यसलाई मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । उनले कर्जा तिर्नुपर्दैन भनेर प्रचार हुने गरेको भन्दै त्यसलाई राष्ट्र बैंकले चिर्न जरुरी रहेको बताए । नेपाल राष्ट्र बैंकको ७०औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
उनले भने–‘संस्थागत रुपमै कर्जा नतिर्ने जुन अफवाह फैलाइन्छ, त्यसलाई चिर्नुपर्छ । खराब कर्जामा समेत कैफियत देखिने गरेको छ, त्यसमा समेत राष्ट्र बैंकले ध्यान दिनुपर्छ ।’
बदलिँदो परिस्थीतिमा ऐन कानूनसम्मत समयमै राष्ट्र बैंकले आफ्नो कार्यसम्पादन डिजिटल प्रणालीलाई अवलम्वन गर्न सक्नुपर्छ । मुलुक सम्पत्ति शुद्धिकरणको मामिलामा खैरो सूचीमा परेकाले कार्ययोजना बनाएर बाहिर निस्कन राष्ट्र बैंकलले पहल गर्नुपर्ने उनको भनाई छ ।
सुनको बढी कारोबार गर्ने देश भारत रहेकाले नेपाल हुँदै भारत तस्कारी हुने खतरा रहेकाले राष्ट्र बैंक चनाखो हुनुपर्ने उनले बताए । व्यवहारिक नीतिमार्फत लगानी बढाएर मुलुकभित्र रोजगारी सिर्जना गर्नुपर्ने क्षत्रीले बताए ।