२०८२ बैशाख १५ गते

राष्ट्र बैंकले लिएका नीतिको सफल कार्यान्वयनका कारण अर्थतन्त्र चलायमानः डेपुटी गभर्नर मिश्र

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले केही आन्तरीक, वाह्य कारणले अर्थतन्त्रमा केही समस्या देखिएपनि पछिल्लो समय राष्ट्र बैंकले लिएका नीतिहरुको सफल कार्यान्वयनका कारण अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको ७०औं वार्षिक उत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुद्रास्फीति दर नियन्त्रणमा रहेको, विदेशी संञ्चिति वचतमै रहेको र अन्य अर्थतन्त्रका सूचांकहरु पनि सकारात्मक हुँदै गएको बताए ।

उनले भने, ‘पछिल्लो समय मुद्रास्फीति कम हुँदै आएको छ । विदेशी मुद्रा सञ्चिति १४ महीना बढिलाई धान्ने स्थिति छ । अर्थतन्त्रमा देखिएका आन्तरीक, वाह्य कारणले कर्जा प्रवाह बढ्न सक्ने स्थिति नरहेपनि निराश हुनुपर्ने अवस्था छैन । हाल मुलुकमा १४.४ महिनाको आयातका लागि पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको छ ।’

उनले समस्या, चुनौतीलाई समाधान गर्न सकिने बताए । राष्ट्र बैंकको कार्य क्षेत्रमा पर्ने ती समस्यालाई पहिचान गर्दै हल गरिने उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय साक्षरतालाई जोड दिएको बताउँदै मिश्रले राष्ट्र बैंकको पहल प्रभावकारी बन्दै गएको समेत बताए ।