
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सस्तो लोकप्रियता र क्षणिक फाइदालाई हेरेर वित्तीय नीति लिने कार्य बन्द गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा क्षेत्रीले यस्तो बताएका हुन् । ‘पुँजीगत खर्चको लागि भन्दा छुट्याएको बजेट भन्दा वित्तीय खर्चमा छुट्याइएको बजेट धेरै छ । सस्तो लोकप्रियता र छोटो फाइदालाई मात्र हेरेर अगाडि बढ्दा हामी समस्यामा परेका छौं,’ क्षेत्रीले भने, ‘अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक छ । वित्तीय क्षेत्र सुधार, साक्षरतामा काम गर्दै गएमा वित्तीय अपराध हुने स्थिति हामी कम गर्न सक्छौं ।’
उनले विश्वको कुनै कुनामा घटेको घटनामा नेपाल जोडिँदै र विश्वमा भएको घटनाको प्रभाव नेपालमा पनि पर्ने भएकोले यसमा सचेत हुनुपर्ने बताए । ‘सहकारी समस्या समाधान गरेर नागरिकको पैसाको फिर्ता गरेमा अर्थतन्त्र लयमा फर्किन सक्ने देखिन्छ,’ क्षेत्रीले भने, ‘यसले मानिसको क्रयशक्ति बलियो बनाउने भएकोले त्यसमा ध्यान दिन आवश्यक छ ।’