
बैंकिङ खबर/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन्।
एमालेले लोकतन्त्र दिवसका अवसरमा बिहीबार भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गर्दै राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा भएको बताए। “तपाईंहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ”, महासचिव पोखरेलले भने।
देशमा राजनीतिक अस्थिरता हुँदा पनि मुलुक निर्माणले गति लिन नसकेको उल्लेख गर्दै उनले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक रहेको बताए। “युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ”, उनले थपे, “युवाको भविष्य सुरक्षित गर्दछ।”
आगामी आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिँदै उनले वर्तमान प्रधानमन्त्रीको युवाप्रतिको अगाध स्नेह रहेको सुनाए।
देश र विकासका पक्षमा उभिएका कारण एमालेमाथि आक्रमण भएको उल्लेख गर्दै उनले भने, “एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम एमाले सरकारमा आएपछि धमाधम अघि बढेका छन्।”
आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदैछन् भन्ने भ्रमलाई चिरेको भन्दै देशभरका युवा नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनुपर्ने भनाइ उनले राखे।
महासचिव पोखरेलले नेपाल राष्ट्र युवाको राष्ट्र भएका र श्रम गर्नसक्ने लाखौँ लाख युवा नेपालमा भएको उल्लेख गर्दै भने, “कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न अघि बढ्नु पर्छ।”